
प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
शुक्रबार रिपाेटर्स क्लबमा पत्रकार सम्मेलन गरेर देशका १६ वटा जिल्लाकाे विभिन्न सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने जानकारी गराएको हाे ।
विद्यार्थीहरूको आवश्यकतालाई महशुस गरी विभिन्न १६ वटा जिल्ला इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुरमा कक्षा ११ र १२ मा अध्ययनरत २५ सय २५ जना विद्यार्थीहरूलाई झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने राष्ट्रिय सचिव जानकी आचार्यले बताइन् ।
भारत सरकारकाे र भारतीय जनताहरूकाे सहयोगमा विद्यार्थी परिषद्, सेवा र विकासका लागि युवाकाे समन्वयमा विद्यार्थी परिषद्ले देशकाे १६ वटा जिल्लाका विद्यार्थीहरूलाई ५१ लाख बराबरकाे उक्त शैक्षिक सामग्री वितरण गर्न गइरहेको परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले पत्रकार सम्मेलनमा बताए ।
विद्यार्थी परिषद्ले विगत तीन वर्षदेखि देशकाे अलग अलग क्षेत्रका जिल्लाहरूमा रहेको सामुदायिक र सरकारी विद्यालयकाे कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई , शैक्षिक व्याग, कपि, पेन, टाेपी, प्राज्ञिक अङ्ग्रेजी सिकाइ पुस्तक, नेपाली बृहत् शब्दकाेष लगायतकाे शैक्षिक सामग्रीहरू वितरण गर्दै आइरहेकोले यस वर्ष पनि विगतका वर्षहरूझैँ अलग अलग १६ वटा जिल्लाहरूकाे सामुदायिक विद्यालयहरूका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्न गइरहेको महासचिव पंगेनीले बताए ।
विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानले पत्रकारहरूका प्रश्नहरूको जवाफ दिँदै विद्यार्थी परिषद्ले राष्ट्र प्रथमको विचारले नेपाली युवाहरूलाई सिञ्चीत गर्दै नेपाल आमाको जयका लागि आवश्यक सम्पूर्ण कार्य गर्नसक्ने व्यक्ति तयार गरिरहेको बताउँदै विद्यार्थीलाई प्रदान गरिने शैक्षिक सामग्री अन्तर्गत कपीमा व्यक्तिको राष्ट्रिय चरित्र निर्माणका लागि आवश्यक एक संकल्प राष्ट्रका लागि राखिएको जानकारी दिए ।
