
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
बिहिबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै उनले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताएका छन् ।
“राष्ट्रिय परिचयपत्र बनाउन एक करोड ५१ लाखको विवरण सङ्कलन भइसकेको छ । कार्ड छपाइ ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी छ”, उनले भने, “वितरणको सङ्ख्या एकदम कम भयो । आठ लाख ४७ हजार मात्र हामीले वितरण गरौँ । वितरणको पाटोलाई तीव्रता दिनुहोला ।”
गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सरकारको सुशासनसँग सम्बन्धित रहेको बताएका छन् । उनले भने, “नागरिकलाई राज्यले प्रदान गर्ने सुविधाको मुख्य माध्यम राष्ट्रिय परिचयपत्र हुने भएकाले यो सुशासनको महत्त्वपूर्ण पाटो हो । यो राज्यको भविष्यसँग जोडिएको छ । यसमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रशंसनीय काम गरेको छ ।”
ज्येष्ठ नागरिकलाई घरघर गएर परिचयपत्र उपलब्ध गराउनेगरी अगाडि बढ्न गृहमन्त्री लेखकले निर्देशन थियो । “सामाजिक सुरक्षाभत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने कुरा व्यावहारिक थिएन । सामाजिक सुरक्षा भत्ताका लागि त्यो अनिवार्य नगर्ने निर्णय उचित हो । तर, ज्येष्ठ नागरिकबाहेकका हकमा अनिवार्य गरौँ । ज्येष्ठ नागरिकलाई घरघर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने नीति बनाऔँ”, उनले भने।
