
वर्षासँगै घरभन्दा माथिबाट खसेको पहिरोले घर पुरिँदा म्याग्दीको ताकममा एक दम्पतिको मृत्यु भएको छ ।
पहिरोले घर पुरिँदा धवलागिरि गाउँपालिका–७, ताकमका ६४ वर्षीय तुलप्रसाद न्यौपाने र ५९ वर्षीया बालकुमारी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अहिले उनीहरुको शव निकालिएको छ ।
निरन्तरको वर्षासँगै आज बिहान घर माथिबाट खसेको ढिस्कोसहितको पहिरोले घर पुरिएर न्यौपाने दम्पतिको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन् ।
पहिरोमा पुरिएका न्यौपाने दम्पतिको शव ताकम प्रहरीचौकीबाट खटिएका प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयवासीले निकालेका थिए । घरमा सुतिरहेको अवस्थामा पहिरोले घर पुरिँदा न्यौपाने दम्पतिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोबारे थप बुझ्न र मृतकको आवश्यक प्रक्रिया पुरा गर्नका लागि इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पठाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन्।
केही दिनदेखि निरन्तर रुपमा परिरहेको भारी वर्षाको कारण म्याग्दीखोला, कालीगण्डकी र राहुघाटखोलामा पानीको बहाव बढेको छ । खोलामा पानीको बहाव बढेपछि जल तथा मौसम विज्ञान विभागले म्याग्दीखोलामा पानीको सतहले सतर्कता तह पार गरेको भन्दै बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यसैबीच निरन्तरको वर्षाकै कारण पहिरो खसेर बेनी–जोमसोम र बेनी–दरबाङ सडक पुनः बन्द भएको छ । पहिरोले बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको बैंसरी र भूरुङ–तातोपानी क्षेत्रमा पहिरो खसेर आज बिहानैदेखि सडक अवरुद्ध बनेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन्।
त्यस्तै बेनी–दरबाङ सडकखण्डको घुमाउनेभीरमा पनि पहिरो खसेर सडक अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउने प्रयास गरिए पनि निरन्तरको वर्षा र पहिरो खसिरहेको हुँदा खुलाउन समस्या भैरहेको प्रहरीले जनाएको छ ।