
विगत केहि दिनदेखि परेको अविरल वर्षाको कारण पूर्वी नवलपरासीको बुलिङ्गटार र बौदिकाली गाउँपालिका जाने मुख्य सडकहरु अवरुद्ध भएका छन् ।
लगातार परेको पानीले पहाडी क्षेत्र जाने सडकको कुमसोत पोखरी खण्डको पांग्रेमा गएको पहिरोका कारण विहीवार देखि सडक अवरुद्ध छ ।
पहिरो पन्छाउन नसक्दा दलदले र कावासोतीबाट कुमसोत हुँदै पहाड जाने सवारी साधनहरु चल्न सकेका छैनन ।
पूर्ण रुपमा पानी नरोकिँदासम्म पहिरो पन्छाउन नसकिने प्रहरीको भनाइ छ ।
त्यस्तै कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ ।
गैँडाकोट र बुलिङ्गटारको सिमानामा रहेको तरंगेको खोलामा आएको बाढीले खोलाको ह्युमपाइप बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलले जानकारी दिएका छन्।