
नियमित वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ ।
सेतीखोलामा आएको बाढीले सेतीवेणी बजारस्थित सिंहप्रसाद ह्याइजुको घर भत्किएको छ भने बजारमा बाढी पस्न थालेपछि जनजीवन प्रभावित भएको हो ।
पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणी र स्याङ्जाको गल्याङ नगरपालिका–५ मा रहेको विश्वको ठूलो शालिग्राम शिला पूर्णरुपमा डुबानमा परेको सेतीवेणी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सन्देश भण्डारीले जानकारी दिएका छन्।
कालीगण्डकी र सेतीखोला दुवैको बहाब बढेपछि शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमस्थल डुबिसकेका छन् भने बजार उच्च जोखिममा रहेको उनले बताएका छन्।
मुस्ताङ, म्याग्दी, पर्वतमा ठूलो वर्षा भएकाले कालीगण्डकीको सतह बढ्ने क्रम जारी रहेको प्रहरी सहायक निरीक्षक भण्डारीले बताएका छन् । उनका अनुसार कालीगण्डकी ए जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्ला डुबानको जोखिममा परेका हुन् ।