बागमति प्रदेश युवा तथा खेलकुद विकास मन्त्री रमा आलेले खेलकुद विकास परिषद बागमती प्रदेशद्वारा आयोजित दोस्रो पारा एथलेटिक्स प्रतियोगिता २०८१ को उदघाटन गर्नुभएको छ । उक्त प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै मन्त्री आलेले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुहुँदै आफनो कार्यकाल अवधिमा पारा खेलकुदलाई अझ प्रोत्साहन मिल्ने गरि रणनीति तयार गर्दै आफू अघि बढिरहेको उल्लेख गर्नुभयो ।
त्यसैगरि, नेपाल पारा ओलम्पिककी अध्यक्ष राधा घलेले नेपालले रितिहासमै पहिलो पटक पारा ओलम्पिक खेलमा स्वर्ण पदक जितेको स्मरण गराउनु हुँदै हालै चीनमा सम्पन्न एशियाड खेलकुदमा पारा ओलम्पियन पलेशा गोबर्धनले अहिलेसम्मकै पहिलो पटक कास्य पदकसहित उच्च पदक जित्दै देशलाई ठूलो सफलता दिलाएको उल्लेख गर्नुभयो ।
सो अवसरमा नेपाल पारा ओलम्पिक कमिटिका महासचिव पशुपति पराजुलीले प्रदेश स्तरमा पारा खेल कार्यक्रम आयोजना गर्ने अवसर प्राप्त हुनु सुखद पक्ष रहेको बताउनुभयो।
त्यसैगरि काठमाण्डौ जिल्ला युवा समिति अध्यक्ष रुपा थापा मगरले फरक क्षमता भएका व्यक्तीहरुलाई घरबाट नै बहिष्कार शुरु हुने गरेको उल्लेख गर्नुहुँदै राष्ट्रले पनि विगतमा पारा खेलकुदलाई बजेट नछुटयाउने गरेको गुनासो गर्नु भयो ।
सो अवसरमा काठमाण्डौ जिल्ला युवा समिति अध्यक्ष रुपा थापा मगर र पारा ओलम्पियन बिक्रम बहादुर रानालाई सम्मान गरिएको थियो । उहाँहरुलाई सम्मान पत्र प्रदान गर्नु पूर्व खेलकुद विकास परिषद, बागमती प्रदेशका बोर्ड सदस्य प्रल्हाद दाहालले त्यहाँ उल्लेख भएको व्यहोरा वाचन गर्नुभएको थियो ।
दोस्रो बागमती राष्ट्रिय स्तरिय पारा एथलेटिक्स प्रतियोगिता २०८१ असार १८ र १९ गरि दुई दिनसम्म चल्ने र ओमनाथ अधिकारीको संयोजकत्व कार्यक्रम भएको पनि दाहालले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पारा ओलम्पिक कमिटिका बरिष्ठ उपाध्यक्ष केदारनाथ शिवाकोटी, नेपाल डेरी एसोसिएसन, बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरे लगायतको सहभागीता रहेको थियो ।
उदघाटन सत्र लगत्तै आयोजित प्रतियोगिता अन्तर्गत पहिलो चरणमा भएका केही खेलका विजेता खेलाडीहरुलाई पदक समेत वितरण गरिएको छ । लेगनखेलमा जारी उक्त प्रतियोगिता अन्तर्गतका अन्य खेलहरु जारी रहेका छन ।