
बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ ।
चालु आर्थिक वर्ष २०८० ८१ को १० महिना अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुुसार प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी रु ३७ हजार सात सय जरिवाना र रु तीन लाख ४० हजार सात सय १२ क्षतिपूर्ति तिराइएको छ । सो अवधिमा विभिन्न उद्योग प्रतिष्ठानबाट बालश्रमिकका रूपमा रहेका २२ बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताएका छन् ।
यस्तै चालु आवको वैशाखसम्म दुई सय प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइएपनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख श्रेष्ठले बताएका छन् ।
