
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी–स्टेटको फाइल खोलेर कांग्रेसमाथि सत्ता पक्षले लगाएको आरोप पुष्टि गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले कांग्रेसले ७० बिगाहाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सो उपर छानबिन गर्न चुनौती दिएका छन् ।
उनले भने, ‘‘म यहाँनिर गृहमन्त्रीजीलाई खोज्न चाहन्छु। सत्ता गठबन्धन दलको सबैभन्दा ठुलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिगाहाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ। त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ?’
महामन्त्री शर्माले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहसँग भिड्न सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सत्ता पक्ष दललाई सुझाव समेत दिएका छन्। उनले न्युरोडमा सडकपेटी बढाउनु जरुरी रहेको धारणा राख्दै मेयर बालेन्द्रले ठिक काम गरेको समेत बताएका छन्। उनले मेयर शाहलाई काम गर्न दिनुपर्ने बताएका छन् ।
त्यस्तै महामन्त्री शर्माले अदालतले निर्दोष साबित गरेपछि पनि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान नपाएको भन्दै अमेरिका जान नपाउनुमा कहाँ कमजोरी भयो भनी परराष्ट्र मन्त्री र खेलकुद मन्त्रीसँग जवाफ माग गरेका छन्।