
भरतपुर अस्पतालमा एमआरआई मेसिन भित्रिएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले सबै उपकरण आईसकेकाले यथासक्य छिटो सञ्चालनमा ल्याउने गरी काम भईरहेको बताएका छन् ।
झण्डै डेढ वर्ष पहिला सम्झौता गरेर अहिले मेसिन आईपुगेको हो । अहिले एमआरआई नहुँदा बिरामी निजी अस्पताल रिफर गर्नुपर्ने बाध्यता रहेको छ । उनका अनुसार अब बीमा गरिएका र अन्य बिरामीले अस्पतालमै सेवा पाउने छन् ।
निजीको तुलनामा न्यून शुल्कमा एमआरआई हुने उनले जानकारी दिएका छन् । अस्पतालको रेडियोलोजी विभाग प्रमुख डा केशव पौडेलका अनुसार जर्मनीमा बनेको सिमेन्स कम्पनीको मेसिन ल्याईएको हो ।
‘थ्रि टेस्ला सिक्टीफोर च्यानल’ को यो उपकरण आधुनिक भएको डा पौडेले बताएका छन्। उनले मुटु, नसा लगायतको परीक्षणमा प्रभावकारी हुने बताएका छन् । उनले भने “अत्याधुनिक उपकरण भएकाले सबै खालका परीक्षण गर्न हामी सक्दछौं ।” दैनिक २० वटासम्म परीक्षण गर्न सकिने डा। पौडेलको भनाई छ ।
३० करोड रुपैयाँमा खरिद गरिएको मेसिन एक महिनाभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । अस्पतालमा चितवन सहित २५ जिल्लाबाट बिरामी आउने गर्दछन् । यहाँ दैनिक दुई हजार हाराहारी बिरामी बहिरंग विभागमा आउने गर्दछन् ।