
काठमाडौँ उपत्यकामा स्थानीय वायु प्रणालीको प्रभावका कारण वर्षा भएको छ ।
काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो प्रि मनसुन क्रियाकलाप भएको महाशाखाले जनाएको छ ।
हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार कोशी, मधेस र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । कोशी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
