
राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँचलगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउनुपर्ने बताएका छन् ।
राष्ट्रपति पौडेलद्वारा छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा जारी शुभकामना सन्देशमा महिलाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिताका लागि सबैको सामूहिक प्रयास हुनु जरूरी रहेको उल्लेख गरेका छन् ।
“सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।
‘हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ मनाउन लागिएको छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले उक्त शुभकामना दिएका छन् ।