
नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ ।
आज बिहान कांग्रेस नेताहरूको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको छ ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘‘गोर्खा मिडिया नेटवर्कसहित त्यहाँ सञ्चालक सदस्य रहेका सदस्यहरूको नाम राख्नुपर्छ । नाम उल्लेख नगरीकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’’
तर, सत्ता पक्षका नेताहरूले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा कांग्रेस सहमत नभएको हो । कम्पनीका सञ्चालक जबाफदेही हुनुपर्ने भएकाले नाम नै किटान हुनुपर्ने कांग्रेसको भनाइ छ । सहकारीकै विषयलाई लिएर कांग्रेसले आजै काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।
पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको छ । पोखरा महानगरपालिकाले अध्ययन गरेको छ । अध्ययनको ८९ पेजको रिपोर्ट निकालेको छ । रिपोर्टले सय जना मानिसहरूले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको भनिएको छ ।
