
गुल्मी जिल्लाको इस्मा र गुल्मीदरबारका अग्नी पीडितहरुका लागि गुल्मी जिल्ला समाज यूकेले ६ लाख रकम सहयोग गरेको छ ।
गएको वैशाख ८ गते आगलागीबाट इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा ३० वटा घरगोठ र गुल्मी दरबार गाउँपालिकामा पनि ६ वटा घर जलेर नष्ट हुनुका साथै करोडौंको क्षति भएको थियो ।
समाजले जिल्लावासीको सहयोगका लागि बेलायतमा संकलन गरेको रकम एक कार्यक्रमबीच पीडितकै गाउँ पुगेर हस्तान्तरण गरिएको छ । इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्यको रोहबरमा गुल्मी जिल्ला समाज यूकेका प्रतिनिधि रणबहादुर खातीले स्थानीय सहयोग समितिलाई सहयोग चेक हस्तान्तरण गरेका छन्।
सहयोग रकममध्ये ४ लाख इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा र २ लाख रुपैयाँ गुल्मीदरबारका अग्नी पीडितलाई रहेको छ । सहयोग रकम हस्तातरण गर्दै गुल्मी जिल्ला समाज यूकेका प्रतिनिधि रणबहादुर खातीले अग्नी पीडितहरुलाई सानो सहयोगले मलम लगाउने कार्य गरेको बताएका छन् ।
उनले गुल्मी जिल्ला बासीको सुखःदुखमा साथ दिन र विभिन्न दैविकप्रपोकहरुका सहयोग गर्ने उदेश्लय संस्था स्थापना गरेको बताएका छन्। संस्था स्थापना भएदेखि हालसम्म जिल्लामा करौडौं रकम सहयोग गरेको खातीको भनाइ छ ।
जिल्ला भर २ हजार बढी हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको थियो । अहिले पानी पर्ने क्रम बढदै गएकाले आगोलागीका घटना बिस्तारै रोकिन थालेका छन् ।