लामो समयको खडेरीपछि परेको लगातारको वर्षाका कारण म्याग्दीमा लगाइएको मकैखेती र फलफूलमा रोग तथा कीराको सङ्क्रमण देखिएको छ ।
खडेरीका कारण यस वर्ष गहुँ उत्पादनमा कमी आएपछि चिन्तित बनेका किसान मकै छर्ने समयमा पानी नपरेपछि उत्पादन हुने सबै ठाउँमा खेती गर्न सकेका छैनन् । खडेरीमा छरिएको मकै पानी परेपछि निकै ढिलोगरी उम्रेका र ती बिरुवामा पनि डडुवा र फौजी कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् ।
मालिका–६ का किसान वीरबहादुर विश्वकर्माले मकैबालीका साथै फलफूल, तरकारी र कोसेबालीमा समेत औँसा र फौजी कीराको सङ्क्रमण देखिन थालेको बताएका छन् ।
जिल्लाको मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकालगायत बेनी नगरपालिकाका विभिन्न ठाउँमा गरिएको मकैखेतीमा रोगको सङ्क्रमण देखिएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् ।
यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको सङ्क्रमण प्रकोप देखिएको मालिका–१ निस्कोटका कृषक तीर्थबहादुर पुनले बताएका छन् । उनका अनुसार सुन्तला र केराखेतीमा पनि सङ्क्रमण देखिन थालेको छ ।
फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौँला, गोलभेँडालगायत तरकारी तथा फलफूलमा औँसा, घोगा लाग्न थालेका मकैमा फौँजी र केरा खेतीमा खपटे कीराको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका मङ्गाला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताएका छन् ।