इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ ।
मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज मध्याह्न निधन भएको छ ।
इतिहासकार नेपालका भाइ एकमणि नेपालले राससलाई दिएको जानकारी अनुसार उनको पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने छ । इतिहासकार नेपालका दुई छोरा छन् ।
उनले भोजपुरमा १९८९ माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिनमा जन्मिएर खोटाङमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गर्न सुरु गरेका थिए ।
नेपालले नयराज पन्तसँग शिक्षा आर्जन गरेका थिए ।
काठमाडौँमा आई इतिहासप्रति अभिरुचि राखेर नेपालले अध्ययन गरी इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन गरेका छन् । नेपालका ‘नेपाल निरुपण’, ‘नेपाल निरुक्त’, ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’लगायत दुई दर्जन कृति प्रकाशित भएको लेखक एवं साहित्यकार हरिप्रसाद सोडारीले जानकारी दिएका छन् । । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसकेका नेपाल वृद्धअवस्थासम्म पनि इतिहासको खोज, अध्ययन र अनुसन्धानमा सक्रिय थिए।।