
रामेछापमा गर्मी बढेसँगै जुनारको जुस बिक्री बढेको छ ।
स्थानीय उत्पादन यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् ।
विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो जुस जिल्लाका दुईवटा उद्योगबाट दैनिक रु तीन लाख पचास हजार बराबरको बिक्री हुने गरेको उत्पादकहरूले बताएका छन् ।
जिल्लामा निजी क्षेत्रका डिलक्स एग्रो फरेस्ट्री प्रडक्ट र मन्थली डिलक्स एग्रो फरेस्ट्रीले ‘स्क्वास’ बनाएर बिक्री गरेका छन् । दुवै कम्पनीले कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्दै आएका छन् । जिल्लामा जुनारको स्क्वास प्रतिलिटर रु एक सय ५० किवीको प्रतिलिटर रु दुई सयमा बिक्री हुने गरेको छ ।
एक भागमा चार भाग पानी मिसाएर पिउनुपर्ने स्क्वास रामेछाप जिल्ला सदरमुकाम मन्थलीका साथै जिल्लाका विभिन्न बजार केन्द्र, सिन्धुलीको खुर्कोटलगायत विभिन्न बजार, दोलखा, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर भक्तपुर र तराईका जिल्लामा कोसेलीका रुपमा लैजाने गरिएको र दैनिकरुपमा दुवै कम्पनीबाट गरी रु तीन लाख ५० हजारको बिक्री हुने गरेको डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक रामबाबु गिरीले बताएका छन्।