
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताएका छन्।
सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको बताएका छन् ।
“राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमा तथा दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ”, मन्त्री शर्माले शुभकामना सन्देशमा भनिन्, “सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमाको काम अघि बढिरहेको छ ।”
सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको उल्लेख गर्दै उनले सन्देशमा यससँग सम्बन्धित परियोजना विकास गरेर त्यसलाई कार्यान्वयन गरी समृद्ध नेपाल निर्माणको आकाङ्क्षा पूरा गर्न सहयोग पुग्ने बताएकि छन् ।