इलाम प्रतिनिधी सभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङ्ग विजयी भएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार डम्बर बहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गर्दै नेम्बाङ्ग प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
अन्तिम मत परिणामअनुसार नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ ह्जार ९ सय ४२ मत प्राप्त गरेका छन् ।
एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्बाङ्गको निधन पछि उक्त स्थानमा उपनिर्वाचन भएको हो । सुहाङ सुभाष नेम्बाङ्गका कान्छा छोरा हुन् । २०४६ सालमा काठमाडौंमा उनको जन्म भएको हो । उनी कानूनमा स्नातक उत्तिर्ण छन्।
सुहाङ नेम्बाङ्गलाई उपनिर्वाचनमा नेकपा एमालेले नेकपा माओबादी केन्द्र, नेपाल परिवार दल, नेकपा विप्लव समूह समेतका गठबन्धनका साझा उम्मेद्वारका रुपमा इलाम २ मा उम्मेद्वार बनाएको थियो ।
यसअघि २०७९ मा भएको आम निर्वाचनमा काँग्रेसका खड्का सुहाङका पिता सुभाष नेम्बाङ्गसँग ११४ को झिनो मतान्तरले पराजित भएका थिए।