
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा आजदेखि सुरु १७औँ नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेलाको उद्घाटन समारोहमा उनले भने, “चीनको स्वशासित क्षेत्र तिब्बतबीचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रा व्यवसायीका कारण द्विपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमालय जस्तै अटल बनाएको छ ।”
नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गदै मन्त्री भण्डारीले उच्च हिमालय र कठीन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिले पनि बाधाका रुपमा नरहेको बताएका छन् । उनले भने, “हाम्रा पुर्खाहरुले यी बाधाहरुलाई हिमालय वारपार द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने अवसरका रुपमा लिए त्यस कठीन समयमा जतिबेला यातायातका आधुनिक साधन उपलब्ध थिएनन् ।”
नेपाल र चीन सदैव सुख दुःखमा साथ दिने अनन्य मित्रका रुपमा रहेका चर्चा गर्दै मन्त्री भण्डारीले चीनको स्थायित्व, एकता र समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको उल्लेख गरेका छन् । नेपाल सदैव एक चीन नीतिको समर्थक रहँदै आएको उल्लेख गर्दै उनले भने, “चीनको एकता र अखण्डतालाई मन, वचन र कर्मले प्रतिबद्ध रहेको यस अवसरमा उल्लेख गर्न चाहन्छु ।”
रेलवे सञ्जालबाट चीनको मूख्यभूमि चीन र तिब्बत जोडिएको उल्लेख गर्दैै मन्त्री भण्डारीले त्यहाँ बढिरहेको आर्थिक गतिविधि र प्रगतिबाट रेलवे नेटर्वकले भविष्यमा हिमालयलाई पार गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले चीनसँग नेपालको व्यापारघाटा बढ्दै गइरहेको सन्र्दभमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिने तथा यसबाट द्विपक्षीय व्यापारमा अभिवृद्धि हुँदै नेपालको निर्यात मुख्य भूमि चीन र तिब्बतमा बढ्न सक्नेमा आशा व्यक्त गरेका छन् ।