
आज शनिबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बोक्सीको घर’ले पहिलो दिन हलमा दर्शकको राम्रो साथ पाएको छ ।
दर्शकको संख्या बढेपछि प्रदर्शकहरूले शो संख्या बढाएका छन् ।
देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा उच्च शो पाएको ‘बोक्सीको घर’ आज धेरै हलमा हाउसफूल भएको छ । ललितपुरको लबिम, काठमाडौंको सिभिल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्सका अधिकांश शो हाउसफूल भएका छन् । अन्य हलमा पनि उच्च अकुपेन्सी थियो ।
बुधबार अग्रिम टिकटक बुकिङ खोल्दै क्यूएफएक्सले ‘बोक्सीको घर’लाई काठमाडौं उपत्यकामा २४ र मोफसलमा ३२ शो दिएको थियो । नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १८ शो, बिग मुभिजले ५, एफक्यूबले ७, वान सिनेमाज कालिमाटीले ५ शो दिएका थिए । अन्य मल्टिप्लेक्सहरूले पनि उच्च शो प्रदान गरेका थिए ।
अग्रिम टिकट बुकिङ खोल्दा काठमाडौंमा क्यूएफएक्समा २४ शो पाएको ‘बोक्सीको घर’ले शनिबार ३८ शो पाएको छ । यसमध्ये ललितपुरको लाबिम मलले मात्रै ९ वटा शो प्रदान गरेको छ ।
सिभिल मलमा ८ शो पाएको छ । लाबिमका भोलि शनिबारका अधिकांश शो आजै फाष्ट फिलिङमा गएका छन् । केही शो हाउसफूल हुने क्रममा छन् । सिभिलमा पनि राम्रो अकुपेन्सी देखिएको छ ।
अन्य मल्टिप्लेक्समा पनि करिब यही अनुपातमा शो बढेको र बुकिङ पनि राम्रो देखिएकाले ‘बोक्सीको घर’ले शनिबार आक्रामक कलेक्सन गर्ने आंकलन गरिएको छ ।
आजको बक्सअफिस रिपोर्ट आइनसके पनि शो र अकुपेन्सी उच्च भएकाले राम्रो कमाइ गरेको छ ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा बद्री केकी अधिकारी मुख्य भूमिकामा छिन् । केकी यो चलचित्रकी निर्मात्री पनि हुन् ।