
सुनसरीको बराह क्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् ।
बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाका मूल आयोजक समितिको तथ्याङ्कअनुसार मेलामा पछिल्लो समय सयौँ दर्शनार्थी सहभागी हुने गरेको महाकुम्भ मेलामुल आयोजक समितिका सचिव चन्द्र मगरले बताएका छन्।
आयोजक समितिले एक महिनाभरमा करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेको थियो । दैनिकरुपमा दर्शनार्थी बढ्दै गएकाले आयोजकले लिएको लक्ष्यअनुसार एक महिनामा ३० लाख दर्शनार्थी सहभागी हुनसक्ने र लिइएको अपेक्षा पूरा हुनसक्ने सचिव मगरले बताएका छन् ।
कुम्भमेलामा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ । सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् । कुम्भमा सहभागी हुन पूर्वी नेपालका विभिन्न ठाउँबाट मात्र नभएर बैतडी, दाङ, बाजुरा, अछाम, डडेलधुरालगायतका अन्य सबै जिल्लाबाट दर्शनार्थी आइरहेको उनले बताएका छन् ।
त्यस्तै मधेसका सप्तरी, सिरहादेखि भारतबाट समेत उल्लेख्य रुपमा दर्शनार्थी आइरहेको र अमेरीका, अष्ट्रेलिया, क्यानडालगायका देशहरुबाट भक्तजन मात्र नभएर धर्मगुरुसमेत आएको आयोजकको भनाइ छ ।
हिन्दू धर्म शास्त्रीय मान्यताअनुसार विश्वका चारधाममध्येको एक पवित्र तीर्थ बराह क्षेत्रस्थित सप्तकोशी नदीमा जम्मा चार वटा शाही स्नानका कार्यक्रम राखिएको छ । यही बैशाख १ गते र ११ गते २ शाही स्नान सकिएको छ भने बाँकी २ स्नान १६ गते र २६ गते गरिने छ ।
बराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका महाकुम्भ मेला यही वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।