
धादिङको नीलकण्ठ नगरपालिकाका स्थानीय रित्तो गाग्रीसहित आन्दोलनमा उत्रिएका छन् ।
वर्षौंदेखि नगरपालिका क्षेत्रमा खानेपानीको समस्या भोग्दै आएको तर समस्या समाधानका लागि सम्बन्धित निकायले आश्वासन मात्रै बाँडेको भन्दै त्यहाँका स्थानीयले रित्तो गाग्री, बाल्टिन, जर्किन जस्ता पानी थाप्ने भाडासहित आन्दोलनमा उत्रिएका छन् ।
विशेष गरी सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकाको वडा नम्वर १, २, ३ र ४ का स्थानीयलाई पिउने पानीको चरम समस्या परेको छ। यसो त बजार क्षेत्रमा समेत पानिको समस्या भएको वर्षौ बितिसकेको छ ।
खानेपानि समेत नभएपछि यहाँका स्थानीय एक गाग्री पिउने पानीका लागी खोला खोल्सा धाउन बाध्य छन् । तर पछिल्लो समयमा लामो खडेरीका कारण पानीका मुहानसमेत सुक्न थालेपछि आफूहरु झनै समस्यामा परेको बताएका छन् ।
पटक पटक पिउने पानीको ब्यवस्थापनका लागी आग्रह गर्दा समेत बेवास्ता गरेको आरोप आन्दोलनमा उत्रिएका पिडितहरुको छ । यसो त नगरपालिकाले सबै किसिमको सेवा वापतको शुल्क लिने गरेको तर सेवा भने नदिएको आरोप नगरवासीले लगाएका छन् ।
पानिको समस्या भोग्दै आएका स्थानीयले रित्तो गाग्रीसहित नाराबाजी गर्दै नीलकण्ठ नगरपालिका घेराउ समेत गरेको छ । पिउने पानीको समस्यामा परेका स्थानीयले पानि थाप्ने खाली भाँडा सहित बजारमा मौन जुलुस पनि निकालेको छ ।
नगरपालिकाको बजार क्षेत्रलगायत सबै ग्रामिण क्षेत्रमा पनि पिउने पानीको निकै समस्या रहेको छ । नीलकण्ठ नगरपालिकाले भने सबैको घरघरमा स्वच्छ पिउने पानीको ब्यवस्था गर्दे आएको दावी गरेको छ । हाल नगरपालिका क्षेत्रमा मात्रै करिव पन्ध्र हजार घरधुरी रहेको छ ।