
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएका छन् ।
चौथो अंगको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाईसबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उनले आग्रह गरेका छन् ।फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट फोनिजका पूर्व संघीय उपाध्यक्ष दिपिन राईलाई तथा फोनिज युके पत्रकारिता पुरस्कारबाट इच्क्षा मनकामना एफएम चितवन कुरिनटारमा कार्यरत पत्रकार संगीता चेपाङलाई पुरस्कृत गरिएको थियो
।
फोनिज युकेले हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान तथा पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको फोनिज युकेका निवर्तमान अध्यक्ष गोमा राना मगरले जानकारी दिएकि छन्।
त्यस अवसरमा बोल्दै फोनिजका सल्लाहकार मनोज घर्ती मगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती मगर, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, समाजवादी प्रेस संगठनका उपाध्यक्ष अस्मिता गिरी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले अग्रजको सम्मान गर्दै तथ्यका आधारमा पत्रकार महासंघको स्थापना सम्बन्धी विवादलाई टुंगो लगाउनुपर्ने बताएका छन् ।