
सामाजिक सञ्जालमार्फत अरूको नागरिकता प्रयोग गरी ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा ९ की रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेली, बुद्धशान्ति २ का निश्चल पोर्तेल र माई नगरपालिका ५ इलामका धनबहादुर विक रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकतामा आफ्नो फोटो टाँसेर विभिन्न १६ वटा बैंकमा खाता खोलेर कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।
उनले ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । उजुरी अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
प्रवक्ता रेग्मीका अनुसार रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेलीले आफूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत बताउने गरेकी थिइन् ।
उनले विगत २ वर्षदेखि ठगी गरिरहेको पाइएको एसपी रेग्मीले जानकारी दिएका छन् ।