
आजदेखि ९ दिनसम्म भव्यरूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा सुरु भएको छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ ।
बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयका प्रमुख खिमा वलीले जानकारी दिएकी छन्। ‘आज बिहानदेखि नै नित्य पूजा सुरु गरेपछि सर्वसाधारणको पूजा सुरु भइसकेको छ, पहिला आज गुठी संस्थानका प्रमुख र सिकर्मी नाइकेबाट सरकारी पूजा गरिन्छ, त्यसपछि अन्य समुदायको पूजा सकेर ३ बजेदेखि भैरवको रथ तान्न सुरु गरिने छ, यसवर्ष छिट्टै रथ तानेर गहिटी पुर्याउने लक्ष्य राखेका छौँ,’ उनले भनिन् ।
आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपरान्ह ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ । वैशाख १ गते अपरान्ह ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको वलीले बताएकी छन्
।