
काठमाडौं, २३ चैत्र । कवि एवम मुक्तककार मुकुन्द पौडेलको मुक्तक संग्रह मन मूर्च्छना लोकार्पण भएको छ । राजधानीमाआयोजित लोकार्पण समारोह माझ उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो । पौडेल कृत मन मूर्च्छनाको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका दिव्य शताब्दी पुरुष डा। गौरी शकंर लाल दास, कृतिकार मुकुन्द पौडेल, बरिष्ठ साहित्यकार एस पी कोईराला, बरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, बरिष्ठ मुक्तककार केदार नाथ खनाल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, समालोचक घनेन्द्र ओझा र आवरण प्रकाशनका अध्यक्ष एवं कवि रमेश पौडेलले संयुक्त रुपमा गर्नुभयो ।
सो अवसरमा कार्यक्रमलाई दिव्य शताब्दी पुरुष डा।गौरीलाल दासले प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै मुक्तककारमा सरसपूर्ण तबरले भाव व्यक्त गर्दै मुक्तक कोर्न सक्ने सिर्जना शक्ती रहेको आफूले पाएको बताउनुभयो ।
कृतिकार मुकुन्द पौडेलले दिव्य शताब्दी पुरुष डा।गौरीशंकरलाल दासलाई प्रमुख अतिथिका रुपमा पाउँदा गौरव महशुस भएको बताउनु हुँदै आफू सकृय रुपमा साहित्य सिर्जनामा लाग्ने प्रण गर्नुभयो ।
पूर्व मन्त्री एवं बरिष्ठ साहित्यकार एस पी कोईरालाले मुकुन्द पौडेलको यस कृति पढदै जादाँ उहाँ आफू सत्तरी नभई यौवन कालमा रहेको युवा भएर लेखेको भान जोकोहीलाई पर्न जाने उल्लेख गर्नुहुँदै सेवा निवृत्त जीवनमा पनि सक्रिय हुन सकिन्छ भन्ने प्रेरणा उहाँबाट लिन सकिने बताउनुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्ने क्रममा बरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहालले कृतिकारको लेखन शिल्पको तारिफ गर्नु हुदै शिल्पकारितासँगै बिषयवस्तुमा वेग र तिव्रता रहेकाले मन मूर्च्छना पठनिय रहेको उल्लेख गर्नुभयो ।
त्यसैगरि बरिष्ठ मुक्तककार केदार नाथ खनालले कृतिकारमा मुक्तक लेखनीको उच्च सम्मोहन रहेको बताउनु हुँदै उहाँका रचनाहरु निकै रोचक र प्रेरक रहने गरेको उल्लेख गर्नुभयो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले कृतिकारको मुक्तक प्रतिको लगावको सर्हाना गर्नुहुँदै मन मूर्च्छनामा भाव, अर्थ र अनुप्रासको शिल्प सुन्दर रहेको उल्लेख गर्नुभयो ।
समालोचक घनेन्द्र ओझाले कृतिको समिक्षा गर्नुहुँदै मुक्तकमा विविध विषय र भाव प्रयुक्त रहेको र लेखनी शक्ती कल्पनशिलताले कृतिकारमा स्मृति दंश शालिन रहेको दर्शाउने बताउनुभयो । । साथै उहाँले भद्रताका साथ केही थोरै रचना बाहेक शिल्प र संरचनाका हिसाबले सबै सिर्जनाहरु अब्बल पस्कन सफल रहनुभयो टिप्पणी गर्नुभयो ।
कार्यक्रम माझ आवरण प्रकाशनका प्रबन्ध निर्देशक एवं कवि रमेश पौडेलले स्वागत मन्तव्य राख्नु हुँदै मुक्तककार पौडेलका रचनाहरु निकै मर्मस्पर्शी रहने गरेको बताउनुभयो ।
त्यसो त सो अवसर माझ दिव्य शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले कृतिकारलाई सम्मान गर्नुभयो भने कृतिकारको जन्मदिनको अवसरमा प्रकाशक आवरणले केक काटेर उहाँको जन्मदिन मनाउने प्रबन्ध मिलाएको थियो ।


