Fast Nepal News

एसएमएस फ्रेन्डशिप कप टी-२०मा नेपालको लगातार दोस्रो जित

banner single news

एसएमएस फ्रेन्डशिप कपअन्तर्गत त्रिकोणात्मक टी–२० सिरिजमा आज भएको खेलमा नेपालले भारतको स्थानीय क्लब बरोडा क्लबलाई २७ रनले पराजित गरेको छ।

बरोडाले निर्धारित २० ओभरमा अल आउट हुँदै १२९ रन मात्र बनाएपछि २७ रनले पराजित भयो। आजको जितसँगै नेपाल सिरिजको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ।

मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा भएको खेलमा नेपालले ६ विकेट गुमाएर १५६ रन बनाउँदै जितका लागि बरोडालाई दिएको १५७ रनको लक्ष्य दिएको थियो।

दोस्रो ब्याटिङ गरेको बरोडाका लागि शुरुवात नै सुखद रहेन। ओपनिङ ब्याट्सम्यानलाई सस्तैमा नेपालले पवेलियन फर्काएपछि बरोडा दबाबमा परेको थियो। त्यसपछि लगातारजस्तै बरोडाको विकेट खसेको थियो।

बरोडाका लागि भानु पनियाले २६ बलमा बनाएको ३८ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। उसका लागि बाबा खानले १० बलमा २७ रन‚ कप्तान विष्णु सोलंकीले ३२ बलमा २५ रन र अमित पासीले ९ बलमा १४ रन बनाए। यसबाहेक अरु कसैले उल्लेखनीय प्रदर्शन गर्न सकेनन।

नेपालका लागि करण केसीले ३ विकेट‚ सोमपाल कामीले २ विकेट तथा गुलशल झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालको शुरुवात सशक्त रहेन। ओपनर कुशल भुर्तेल ११ बलमा ९ रन बनाएर आउट भए भने अर्का ओपनर आसिफ शेख पनि १२ बलमा ९ रन बनाएर आउट भए।

अनिल साहले २७ बलमा २५ रन र कप्तान रोहित पौडेलले १३ बलमा १८ रन बनाए। रोहित दोस्रो रन लिने चक्करमा आउट भए।

सन्दिप जोराले १६ बलमा २९ रन बनाएर रन आउट भए। गुलशन झाले १४ बलमा १३ रन बनाए।

Inside Article Ads

कुशल मल्लले अविजित रहँदै २५ बलमा ४० रन बनाए भने अविजित रहेका दीपेन्द्रसिंह ऐरीले ५ बलमा ५ रन बनाए।

नेपालले अतिरिक्त ८ रन पायो।

बरोडाका लागि पेसर बाबा खानले २ विकेट‚ मोहित मोंगिया र परीक्षित पटेलले १/१ विकेट लिए।

नेपालले आज दोस्रो खेल पनि जित्दै दुई खेलबाट ४ अंक जोड्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा नेपालले गुजरातलाई हराएको थियो।

पहिलो खेलमा गुजरातसँग पराजित भएको बरोडा आज नेपालसँग पनि पराजित भएको छ।

नेपाल, गुजरात र बरोडा सहभागी त्रिकोणात्मक टी–२० सिरिज डबल राउण्ड रोबिनमा भइरहेको छ।

भोलि दिउँसो नेपालले गुजरातसँग खेल्नेछ। प्रतियोगिताका शीर्ष दुई टोलीले चैत २५ गते फाइनल खेल्नेछन।

 

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.