Fast Nepal News

मेलम्चीमा दिगो योजना बनेन, पाँचौं ‘उद्घाटन’ आज

पटक–पटक बन्द हुने मेलम्ची खानेपानीको स्थायी प्रबन्ध कसरी गर्ने भन्ने टुंगो छैन, तर पानी रोकिएर आउँदा हरेक पटक समारोहसहित टुटी खोल्ने होड

banner single news

१ माघ,काठमाडौँ — काठमाडौंवासीका लागि लामो प्रतीक्षा बनेको मेलम्ची खानेपानी पहिलो पटक २०७७ फागुन २२ मा उपभोक्ताका धारामा झर्‍यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक यसको उद्घाटन गरेका थिए । संरचना निर्माण नटुंगिँदै हतारोमा उद्घाटन गरेको टिप्पणी सेलाउन नपाउँदै १ महिनामै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः मेलम्चीको उद्घाटन गरिन्, भृकुटीमण्डपमा बनाइएको धारा खोलेर । तर २०७८ असारमा मेलम्चीमा आएको बाढीले आयोजनाको मुहान पुरिएपछि तीन महिनामा नै पानी आउन बन्द भयो ।अस्थायी निर्माण गरेर २०७९ वैशाख ११ मा काठमाडौंमा पुनः पानी वितरण गरियो, यसपालि पनि उद्घाटन नै गरियो । यसका लागि अघि सरे तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी । तर मेलम्चीको पानी मुस्किलले एक महिना मात्रै उपभोक्ताका धारामा आयो । बाढीपहिरोको जोखिम भन्दै २०७९ जेठमा सुरुङ बन्द गरियो ।६ महिनापछि मन्त्री चौधरीले नै मंसिर २३ मा फेरि काठमाडौंको महांकालस्थित पानी वितरण केन्द्रबाट वितरण ‘सुरुवात’ गरे । चौधरीले एकै वर्षमा एउटै ब्यानरमा दुई पटक पानी वितरणको शुभारम्भको ‘रेकर्ड’ राखे । त्यसको ६ महिनापछि पुनः २०८० असारमा मेलम्ची खानेपानीको सुरुङ बन्द भयो ।

गत साउनको बाढीले पुरिएको मुहान यतिबेला मर्मतपछि पुनः ‘उद्घाटन’ गरेर पानी वितरण गर्न लागिएको छ । यस पटक मेलम्ची उद्घाटनको पालो प्रधानमन्त्री पुष्पकमल दाहालमा आएको छ । दाहालले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरको धारा खोलेर उद्घाटन गर्दा मेलम्ची खानेपानीको पाँचौं पटक ‘सुरुवात’ गर्दै छन् ।

हाल बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची मुहानको गेग्रान हटाएर २६ किलोमिटर सुरुङमार्फत सुन्दरीजलमा पानी ल्याइसकिएको छ । पाँच महिनापछि पानी पुनः वितरण हुन लागेको हो । उपभोक्ताको धारामा सोमबार बिहान ८ बजे पानी पठाएर ९ बजे प्रधानमन्त्री दाहालले वितरणको शुभारम्भ गर्ने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए ।

पानी पथान्तरण (खोलाको पानी सुरुङमा पठाउने प्रक्रिया) मा पनि उद्घाटनको अर्को लहड चलिरहेको छ । २०७७ असारमा सिन्धुपाल्चोकका तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले यसको सुरुवात गरेका थिए । सोही वर्षको असार ३० मा सुरुङको भत्केको ढोका मर्मत गरेर पुनः पानी पथान्तरण गर्दा २०७७ फागुन ११ मा तत्कालीन खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र सांसद शेरबहादुर तामाङ मुहान क्षेत्रमा पुगेर ठेलमठेल गर्दै स्विच थिचेर पथान्तरणको ‘उद्घाटन’ गरेका थिए ।

तीन वर्षमा सुरुङ र धारामा पटक–पटक उद्घाटनको होड चले पनि काठमाडौंवासीले मेलम्चीको पानी तिर्खा मेट्ने गरी पिउन अझै पाएका छैनन् । उपभोक्ताका धारामा नियमित पानी आउन सकेको छैन । बाढीपहिरोबाट आयोजनाको दिगो समाधान नगरिनु र स्थायी संरचना निर्माण हुन नसक्दा मेलम्ची खानेपानी नियमित हुन नसकेको हो ।मेलम्चीको पानी उद्घाटनमा भने प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई हुटहुटी हुँदै आएको देखिएको छ । एउटै कामको पटक–पटक उद्घाटन गर्न राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्रीसम्मका उच्च पदस्थकै मोह बर्सेनि देखिने गरेको छ । मेलम्ची खानेपानीले उपभोक्ताको पानी प्यास मेटाउन नसके पनि उद्घाटनको लोभमा नेतृत्वले राजनीतिक ‘प्यास’ भने मेटाउँदै आएको आयोजनाका कर्मचारी नै टिप्पणी गर्छन् ।

‘मेलम्चीले पानीको तिर्खा मात्र होइन, उद्घाटनको प्यास मेटाउने काम पनि गरिरहेको छ,’ मेलम्ची आयोजनाका एक पूर्वकार्यकारी निर्देशकले व्यंग्य गर्दै भने । काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाएको जस लिने होडबाजीका कारण उद्घाटनको चटक दोहोरिरहने गरेको खानेपानी मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

राजनीतिक व्यक्तित्वलाई यस्ता किसिमका उद्घाटन र शिलान्यासमा धेरै नै चासो हुने गरेको पूर्वसचिव किशोर थापाले बताए । ‘यस्तोमा राजनीतिक स्टन्डबाजी हुन्छ, मेरो पालामा मेलम्ची आयो, मेलम्चीको मर्मत मैले गरें भन्ने हुन्छ,’ उनले भने, ‘त्यसैले जस लिने होडबाजी चलिरहन्छ ।’ उनले प्राविधिक रूपमा हेडवर्क्स (पानी डाइभर्सन गर्ने संरचना) मा लक्षित भएर अस्थायी संरचना नभत्किने गरी बनाएर अघि बढ्दा मेलम्चीको प्रणालीले काम गर्ने उनले सुनाए ।

‘यसमा युद्धस्तरमा काम गर्नुपर्छ, सामान्य हिसाबले काम गर्दा ढिलाइ हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्री, मन्त्रीले तपाईं काम गर्नुस्, समस्या पर्दा म सहयोग गर्छु भन्ने हो भने कर्मचारीले निर्धक्क काम गर्न सक्छन् र काम पनि छिटो हुन्छ ।’ स्थायी संरचना नबनाउँदासम्म यस्ता समस्या आउने भएकाले विपद् जोखिम न्यूनीकरण गरेर संरचना बनाउनुपर्ने उनले बताए ।

अहिले उद्घाटन नभएर पानी पुनः वितरण गर्न लागिएको दाबी खानेपानीमन्त्री महिन्द्र राय यादवको छ । ‘मेलम्चीको पानी काठमाडौं ल्याएर वितरण गर्न केही ढिलाइ भएको हो, प्रधानमन्त्रीले २८ दिनभित्र पानी ल्याएर वितरण गर्न भन्नुभएकोमा हामीले तीन दिनअघि नै ल्याउन सफल भएका छौं ।’ काठमाडौंमा केही दिनभित्रमा २५ करोड लिटरसम्म पानी आउने दाबी उनको छ ।

‘असोजको दोस्रो सातासम्म खोलाको पानी धमिलो रहन्छ, बाढीले भत्काएको बाटो र पुल बनाउनुपर्ने थियो, पहिला त्यो बनायौं,’ उनले भने, ‘भेन्डरहरूले एक महिना काम गर्न दिएनन्, त्यो समाधान गरेर काम अघि बढायौं, निर्माण व्यवसायीका कारण पनि केही ढिला भयो ।’ यहाँ दीर्घकालीन संरचना बनाउन छलफल गरेर अगाडि बढ्ने उनले बताए । उनले भने, ‘तीन वटा सुरुङ र तीन वटा हेडवर्क्स बनाएर मुख्य सुरुङमा ल्याउन सके पानी बाह्रै महिना आउँछ, यसका लागि केही समय लाग्नेछ ।’

गत साउनमा बाढीले सिन्धुपाल्चोकस्थित हेलम्बुमा मुहान थुनेपछि उपत्यकामा पानीको अभाव खट्किएको हो । खानेपानी मन्त्रालयका अनुसार पुस ३ मा ठेकेदार कम्पनीसँग २८ दिनभित्र पानी ल्याउने गरी समझदारी भएको थियो । सम्झौताअनुसार माघ १ मा उपत्यकामा मेलम्चीको पानी ल्याउनुपर्ने भएकाले त्यहीअनुसार पानी आएको मेलम्ची खानेपानी विकास समितिले जनायो ।

मेलम्चीबाट प्रतिदिन १७ करोड लिटर पानी आउने छ । मेलम्ची खोलाबाट हेडवर्क्स निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोलाई २०१९ अक्टोबरमा २०२० जनवरीभित्र सक्ने गरी दिइएको थियो । तर त्यस अवधिमा काम सकिएन । २०२१ जुनमा बाढी आएपछि थप काम हुन सकेन । सिनोलाई नै तत्काल भेरिएसन (थप लागत) बाट काम गराउन मन्त्रिपरिषद्बाट निर्णय भएपछि उसैबाट काम गराउन भनिएको हो ।

Inside Article Ads

त्यही समझदारीअनुसार उसैलाई मर्मतको काम दिइएको थियो । बर्खायामपछि बाढीले पुरेका संरचना सफा गर्नॅपर्छ भन्दै सुरुकै ठेक्कामा भेरिएसन गरेर थप काम दिइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । सुरुको ठेक्का १ अर्ब २ करोड र पछि भेरिएसनबाट ३६ करोड रुपैयाँ थप भएको हो । तर पटक–पटक ताकेता गर्दा पनि ठेक्का लिने कम्पनी समयमै नआउँदा मेलम्चीको पानी काठमाडौं ल्याउन ढिला भएको थियो ।

सुरुमा २०७७ चैतदेखि २०७८ जेठ ३१ सम्म काठमाडौंमा मेलम्चीको पानी वितरण गरियो । फेरि २०७८ असार १ मा बाढी आएर मुहानमा क्षति पुगेपछि वितरण रोकियो । २०७८ चैत २९ देखि २०७९ जेठ १८ सम्म पानी आएको प्रवक्ता पन्तले जनाए । २०७९ जेठ १९ पछि धमिलो पानी आउने भएकाले बन्द गरिएको थियो । २०७९ मंसिर १८ देखि २०८० असार ७ सम्म पानी आएको र त्यसपछिको बाढीले पानी आउन बन्द भएको उनको भनाइ छ ।

मेलम्ची खानेपानी विकास समितिको जिम्मेवारी हेडवर्क्स, सुरुङ निर्माण र सुन्दरीजलमा पानी प्रशोधन गर्ने हो । अहिलेसम्म समितिमार्फत भएका काममा ३१ अर्ब रुपैयाँ खर्च भइसकेको छ । काठमाडौं उपत्यकामा पानी ल्याइसकेपछि त्यसलाई आवश्यक संरचना बनाएर वितरण गर्ने काम मेलम्ची उपआयोजना–२ ले गर्छ । त्यसपछिको वितरणको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले गर्छ । उपआयोजनाअन्तर्गत ३० अर्ब रूपैयाँ खर्च भएको समितिले जनाएको छ ।

समितिले काठमाडौं उपत्यकाको सुन्दरीजलसम्म पानी ल्याएपछि उपत्यकाका विभिन्न ११ स्थानका वितरण केन्द्रमा पानी पठाइन्छ । वितरण केन्द्रको संरचना बनाउने, पाइप बिछ्याउनेलगायत आवश्यक संरचना निर्माण गर्ने काम मेलम्ची उपआयोजना–२ ले गर्छ । यो उपआयोजनाले निर्माण गरिएका संरचनामा पानी परीक्षण गरेर केयूकेएललाई हस्तान्तरण गर्नेछ । असारसम्म केयूकेएलको केही पुरानो नेटवर्कबाटै पानी पठाइने उपआयोजनाले जनायो ।पहिलो चरणमा मेलम्ची नदीबाट डाइभर्सन गरेर पानी ल्याइएको हो । दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याइनेछ । जसअनुसार तीन चरण गरेर ५१ करोड लिटर पानी काठमाडौं आउनेछ । केयूकेएलको सेवाभित्र उपत्यकाका तीन जिल्लामा २ लाख ५६ हजार धारा छन् । त्यही धारामा मेलम्चीको पानी उपलब्ध गराइनेछ ।

सुरुको अवधारणाअनुसार मेलम्ची, यांग्री र लार्केबाट पानी ल्याउन सकिए २०३५ सम्म काठमाडौं उपत्यकामा पानीको माग व्यवस्थापन गर्न सकिने प्रवक्ता पन्तको भनाइ छ । अहिले सुक्खायामको समय भएको र पानी कम भएकाले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पानीको माग धेरै रहेको केयूकेएलका सूचना अधिकारी प्रकाशकुमार राईले बताए । यी जिल्लामा दैनिक ४७ करोड लिटर पानीको माग छ ।

‘मेलम्चीबाट पानी आउँदा दैनिक वितरण गरिरहेका थियौं,’ उनले भने, ‘अहिले नआउँदा दिन बिराएर ९ देखि १० करोड लिटर पानी मात्र वितरण गरिरहेका छौं ।’ पहिला मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउँथ्यो । यति नै पानी आए दिन बिराएर वितरण गर्न सकिने उनले बताए । बाढी आएर यति ठूलो क्षति होला भनेर कल्पनासम्म नगरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले बताए ।

‘यस्तो बाढी भविष्यमा आउँछ/आउँदैन, निर्माण गरेको संरचनामा थप क्षति हुन्छ/हुँदैन,’ उनले भने, ‘त्यहीअनुसार बाढीपछिको दिगो संरचना कस्तो बनाउने भन्नेबारे अझै निर्णय भइसकेको छैन ।’ सबै अध्ययन गरेरै आयोजनाको निर्माण थालेको उनले सुनाए । ‘तर सोच्दै नसोचेको बाढी आयो,’ उनले भने, ‘जलवायु परिवर्तनको असर पनि हुन सक्छ ।’

आयोजनाको स्थायी समाधान नहुन्जेलसम्मका लागि अस्थायी रूपमा पानी उपलब्ध गराइने उनको भनाइ छ । त्यसो त अहिले भइरहेको मुहानमा फेरि पनि बाढीको जोखिम रहने भएकाले एसियाली विकास बैंक (एडीबी) ले अध्ययन गरेर मुहान नै सार्न सुझाव दिएको छ । ‘स्थायी समस्या समाधानका लागि समय र लागत बढी लाग्नेछ, अहिलेसम्म अनुमान गरिएको समय चार वर्ष र लागत चार अर्ब लाग्ने देखिन्छ,’ उनले भने, ‘अहिले भएका संरचना अझै हेर्न जरुरी छ, जमिनमुनिको सतह कमजोर भए थप संरचना बनाउन नसकिने हुन्छ ।’

एडीबीको अध्ययनले भेमाथानदेखि तलसम्म सबै ठाउँ हेरेर यही बीचमा मुहान बनाउन उपयुक्त हुन्छ भन्ने सुझाव आएको उनले सुनाए । ‘भेमाथानबाट हेडवर्क्ससम्म पूरै अध्ययन भएको छ, जसअनुसार तीन ठाउँमा मुहान राख्न सुझाव दिइएकामा सर्कथली उपयुक्त भनेर सिफारिस गरिएको छ,’ उनले भने, ‘जुन ठाउँ अहिले रहेको मुहानबाट ७/८ सय मिटर माथि हो ।’ अहिले ठाउँ मात्र थाहा भएको उनले बताए । उपयुक्त भनिएको ठाउँको फेरि अध्ययन हुने भए पनि त्यसको थप काम नभएको उनले बताए ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.