
१६ पुष,काठमाडौँ —सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष सरोकार राख्नेलगायत विभिन्न सरकारी वेबसाइट एवं वेब एप्लिकेसन सोमबार दिनभर अवरुद्ध रहे । सार्वजनिक आईपी अड्रेसलगायत डाटाबेस रहने डोमेन नेम सिस्टम (डीएनएस) सर्भरमा आइतबारदेखि नै डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडस) आक्रमण भएकाले सरकारी साइट सञ्चालनमा आउन सकेनन् ।
यस्तो प्रकृतिको आक्रमण भएको यो पहिलो घटना नभए पनि जनसरोकारका पूर्वाधारमा बारम्बार आइरहने समस्या समाधानका लागि सम्बन्धित निकाय भने गम्भीर देखिँदैनन् ।
तमु ल्होसारका अवसरमा आइतबार सार्वजनिक बिदा परेकाले त्यति मर्का नपरे पनि सोमबार कार्यालय खुलेपछि पनि सेवा प्रवाहमै जोडिएका कतिपय सरकारी साइट अवरुद्ध हुन पुगे । ‘आइतबारदेखि नै सरकारी साइटमा धेरै ट्राफिक आइरहेका थिए, हाम्रो फारयवालले ब्लक गरे पनि सोमबार भने कतिपय वेबसाइट डेस्कटपमा चलेनन्, केही साइट मोबाइलमा भने खुलेका थिए,’ सूचना प्रविधि केन्द्रका प्रवक्ता प्रवीण चौहानले भने, ‘यो डिडस आक्रमण हो । हामीले अस्वाभाविक आईपी अड्रेसहरू ब्लक गरिरहेका छौं, बिस्तारै सबै साइट चल्न थाल्छन् ।’
विभिन्न वेबसाइट एवं साइबर सुरक्षाका लागि प्रयोग गरिने सुरक्षा साधनको लाइसेन्स नवीकरण हुन नसक्दा यस्ता आक्रमण थेग्न गाह्रो परेको प्रवक्ता चौहानको भनाइ छ । एकसाथ धेरै भिजिटर पठाएर सिस्टम डाउन गर्न खोजिएकाले केन्द्रले विदेशबाट आउने भिजिटरलाई ब्लक गरेको थियो । यसो गर्दा कतिपय स्थानीय आईपी अड्रेससमेत ब्लक हुन पुगेकाले कतै वेबसाइट खुल्ने कतै नखुल्ने भएको प्रवक्ता चौहान बताउँछन् ।
समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।
