१४ पुष,काठमाडौँ —नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने नेतृत्वको पर्सा–११ ले वीरगन्जमा चलिरहेको प्रो लिग च्याम्पियन टी–२० क्रिकेट प्रतियोगिताको फाइनल स्थान सुरक्षित गर्यो । तर, अब फाइनलमा सन्दीपले नेपाल पुलिस क्लबविरुद्ध खेल्ने वा नखेल्ने भन्ने द्विविधामा छ । शुक्रबारै जिल्ला अदालत काठमाडौंले बालिका बलात्कारको आरोप लागेका सन्दीपलाई दोषी ठहर गरेको छ । उनलाई सातदेखि १० वर्ष कैद सजाय हुन सक्छ ।
अदालतको फैसलापछि सन्दीपको करिअर लगभग समाप्त हुने देखिन्छ । जेलबाहिर रहेर उच्च अदालतमा मुद्दा लड्ने विकल्प रहे पनि खेलमैदानमा उनलाई उत्रिन सहज वातावरण छैन । अदालतमा मुद्दा चलिरहँदा नैतिकताका आधारमा उनको टोलीमा फर्किने बाटो असहज देखिन्छ । अन्तर्राष्ट्रिय खेल जगत्मा गम्भीर मुद्दा खेपिरहेको समयमा स्वयं खेलाडीले नैतिकताका आधारमा टोलीबाट बाहिर रहने निर्णय गरेका धेरै उदाहरण छन् । उच्च र सर्वोच्च अदालतबाट समेत उनीविरुद्ध नै फैसला आए उनको क्रिकेट करिअर समाप्त नै हुनेछ । यस्तो परस्थितिमा क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघले पनि उनलाई निलम्बन गर्नेछ ।
पछिल्लो समयमा अदालतमा धरौटी राखी बाहिर रही सन्दीपले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका थिए । यो एक वर्षभित्र नेपालले खेलेका अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उनी मुख्य स्पिनरका रूपमा रहे । नेपालले दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट, एसिया कपमा र एकदिवसीय विश्वकपको अन्तिम छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्दा सन्दीपको योगदान उत्कृष्ट रहेको थियो ।
सन्दीप छोटो समयमै अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा स्थापित नेपाली क्रिकेटरमा पर्छन् । विश्वकै चर्चित लिग इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने उनी एक मात्र नेपाली खेलाडी हुन् । यसपटकको अक्सनमा उनी परेनन् । भारत, अस्ट्रेलिया, युएई र क्यारेबियन खेल्दै उनले निकै छोटो समयमै करोडौँ कमाउन सफल भए । क्रिकेट खेलेरै करोडपति हुने उनी एक मात्र खेलाडी हुन् ।
जर्नी अफ विश्वकपबाट यात्रा
चितवन क्रिकेट एकेडेमीमा नेपालका पूर्वकप्तान राजु खड्काको प्रशिक्षणमा सन्दीपले क्रिकेटको प्रशिक्षण पहिलोपटक लिएका थिए । उनले अरूभन्दा फरक किसिमले बल फ्याँक्थे । त्यही समयमा नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दासानायके ट्यालेन्ट हन्ट कार्यक्रमअन्तर्गत चितवन पुगेका थिए । दासानायकेले सन्दीपको बलिङ शैली हेर्दै तत्कालै काठमाडौं बोलाएर राष्ट्रिय टोलीको क्याम्पमा राखे । नेपाल सन् २०१९ को एकदिवसीय विश्वकप छनोटको तयारीमा थियो । विश्वकप छनोटका लागि ‘जर्नी अफ विश्वकप’ नाम राखी प्रतियोगिता नै आयोजना भएको थियो । सन्दीप एकैपटक टोलीमा परे । आफ्नै क्षमतामा उनले नेपाली राष्ट्रिय टोलीको कप्तानी जिम्मेवारीसमेत पाए ।
आइपिएलबाट विश्वले चिन्यो
सन् २०१६ को आइसिसी यू–१९ विश्वकपमा सन्दीपले आयरल्यान्डविरुद्ध ह्याट्रिक लिएका थिए । उनले आयरल्यान्डविरुद्ध २७/५ को उत्कृष्ट प्रदर्शन गरेका थिए । यू–१९ विश्वकप र ब्लिजमा गरेको प्रदर्शनका आधारमै उनलाई माइकल क्लार्केले अस्ट्रेलियामा प्रशिक्षण गर्न निमन्त्रणा दिए । सन् २०१८ मा आइपिएलको अक्सनमा सन्दीप एसोसिएटतर्फको विदेशी कोटामा परेका थिए । दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले सन्दीपलाई न्यूनतम २० लाख भारुमा अनुबन्ध गरे । पहिलो सिजनमै उत्कृष्ट बलिङ प्रदर्शन गरेका कारण सन्दीप थप दुई सिजन दिल्लीमै रहे । आइपिएलको प्रदर्शनसँगै सन्दीपको अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा ढोका खुल्यो । सन् २०१८ देखि २०२२ सम्म उनी विश्वकै चर्चित क्लबमा अनुबन्ध भएपनि पछिल्लो समयमा चर्चित अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा आबद्ध हुन सकेनन् ।
एकदिवसीयमा कम खेलमा सय विकेट
५० ओभरको फम्र्याटमा कम खेलमा सय विकेट लिने सन्दीप पहिलो बलर हुन् । ८ वैशाख ०८० मा उनले एसिसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध विकेट लिँदै एकदिवसीयमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान बनाएका थिए । उनले ४२ खेलमा सय विकेट पूरा गरे । यसअघि अफगानिस्तानका रसिद खानले ४४ खेलमा सय विकेट लिएका थिए । उनले अहिलेसम्म ५१ एकदिवसीय खेलमा एक सय १२ विकेट लिएका छन् । ५२ अन्तर्राष्ट्रिय टी–२० मा उनले ९८ विकेट हात पारेका छन् । सन्दीपले अन्तिमपटक सन् २०२३ को ४ सेप्टेम्बरमा एसिया कपअन्तर्गत भारतविरुद्ध एकदिवसीय खेल खेलेका थिए । सन् २०२३ को ५ नोभेम्बरमा उनले ओमानसँग अन्तिमपटक प्रतिस्पर्धा गरे ।
समाचार नयाँ पत्रिकामा प्रकाशित छ।