
१० पुष,काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ । विसं २०७९ पुस १० गते अर्थात् गत वर्षको आजैका दिन प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ ।
शान्ति सुरक्षा र अपराध अनुसन्धान एवं नियन्त्रणका कारण सुशासनतर्फ पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति भएको महसुस गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानसँगै ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरण, सुन तस्करीविरुद्धको विशेष अपरेसन, विद्युतीय सट्टेबाजी, सहकारी ठगी, मिटरब्याजविरुद्ध राज्यको कठोर कदम, सुन तस्करी प्रकरणमा गृह प्रशासनको सफल अनुसन्धानले सरकार सुशासनको यात्रामा अघि बढेको विश्लेषण गरिएको छ ।
यसैगरी राष्ट्रिय गौरवका आयोजनासहित विकास निर्माणका कामलाई विशेष प्राथमिकता दिंदै सरकार समृद्धिको यात्रामा पनि अघि बढेको छ । यस्तै सामाजिक न्यायलाई पनि केन्द्रमा राखी सरकारले सोहीअनुरुप कार्यक्रमहरु अघि बढाएको छ ।
समाचार नेपाल टेलिभिजनको अनलाईनमा प्रकाशित छ।