६ पुष,काठमाडौँ — नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धि सन् १९२३ को डिसेम्बर २१ मा सिंहदरबार (जहाँ अहिले प्रधानमन्त्री कार्यालय छ) को स्टेट हलमा भएको थियो ।त्यसबेला तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्सेरले नेपालको तर्फबाट र बेलायतकातर्फबाट लेफ्टिनेन्ट कर्णेल ओ कोन्नर (पछि नेपालका लागि बेलायतका पहिलो राजदूत भए) ले उक्त सन्धिमा हस्ताक्षर गरेका थिए ।
त्यहि सन्धिबाट नेपालको विश्वसँग सम्बन्ध जोडिएको थियो भने नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा तत्कालीन ‘लिग अफ नेसन्स’ मा प्रस्तुत गर्दै सदस्यता पनि लिइएको थियो ।
उक्त सन्धि भएको बिहीबार १०० वर्ष पुगेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सिंहदरबारको त्यही हलमा परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा नेपालका लागि बेलायतका राजदूत रब फेनलाई बोलाएर उक्त सन्धिलाई फेरि एकपटक स्मरण गरेको हो ।
परराष्ट्रमन्त्री साउदले नेपाल र बेलायतबीच सन् १८१६ मा द्विपक्षीय सम्बन्ध स्थापना गरेको उल्लेख गर्दै सन् १९२३ को सन्धिले दुई मुलुकबीच गहिरो मित्रता र विश्वास स्थापित गरेको प्रष्ट पारे ।
समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।