Fast Nepal News

इन्जिनमा खिया देखिएको जहाज १५ दिनदेखि ग्राउन्डेड, मर्मत गर्न इजरायल लैजानुपर्ने

निगमका दर्जनौं उडान रद्द, दैनिक कम्तीमा १ करोडको व्यापार घाटा इजरायल-हमास युद्धले निगमले मर्मत गर्न दिएको इन्जिन पुस अन्तिम साता मात्रै तयार हुने

banner single news

२८ मंसिर,काठमाडौँ-निगमका कार्यकारी अध्यक्षको सचिवालय स्रोतका अनुसार, यो विमान मंसिर १३ गते बैंककबाट फर्केपछि इन्जिनियरले तीन साइकल (उडान र अवतरण गरी ६ पटकमात्रै) प्रयोग गर्न मिल्ने तर यात्रु सेवा उडान गर्न नमिल्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड गरिदिएका थिए ।

यो जहाज ग्राउन्डेड भएयता निगमले दैनिक दिल्लीका लागि गर्ने दुई उडानलाई कटौती गर्दै दिउँसोको एउटामात्रै गर्दै आएको छ । अन्यत्रका उडान पनि कटौती गर्दा टिकट काटिसकेका सयौं यात्रुहरूको उडान अनिश्चित हुँदै आएको निगमको मुख्यालयमा रहेको टिकट बिक्री कक्षका एक अधिकारीले बताए ।

काठमाडौंबाट १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्न निगमसँग चारवटा जहाज छन् । यीमध्ये एउटा बिग्रिएर थन्किएपछि निगमले न्यारोबडी पठाउने गन्तव्यमा घाटा व्यहोर्दै वाइडबडी विमान पठाइरहेको छ । त्यस्तै न्यरोबडी उडान गर्ने दिल्ली, मुम्बई, बैंलोर, हङकङ, बैंककका उडान हचुवामा रद्द गर्ने, दुइटा उडान मर्ज गर्ने, कतिपय यात्रुलाई विदेशी वायुसेवामा पठाउने, कतिपयलाई होटलमा राखेर अर्को दिन उडाने गर्ने गरेको विमानस्थलस्थित यात्रुसेवा विभागका एक कर्मचारीले बताए ।

‘मुम्बई, बैंलोर जाने यात्रुलाई हाम्रै दिल्लीको उडानमा सिट खाली भएमा पठाइरहेका छौं,’ निगमका ती कर्मचारीले भने,‘हङकङ जानेलाई क्याथे लगायतका विदेशी जहाजबाट टिकट किनेर पठाउदै छौँ ।’

इन्जिनियहरूले दुई साताअघि नेपाल वायुसेवा निगमको न्यरोबडी अल्फा किलो एक्सरे (लुम्बिनी) जहाजको दायाँ इन्जिनभित्र पाइप राखेर गरीने बोरस्कोप जाचँ गर्दा हाई प्रेसर टरबाइन ब्लेडमा खिया लागेको देखिएको थियो । त्यसैबेला यो जहाजले गर्ने दोहा लगायतका उडान रद्द भएका थिए । निगमको वाणिज्य विभागले त्यसैबेला कार्यकारी अध्यक्षसहित सबै सरोकार राख्ने विभागलाई इमेल लेखेर न्यारोबडी अल्फा किलो एक्सरे (लुम्बिनी) जहाज तीनपटक भन्दा बढी उडान गर्न नमिल्ने भएकाले तत्कालै मर्मत गराउनु पर्ने भनेको थियो ।

Inside Article Ads

‘निगमको व्यवस्थापनले जहाज काठमाडौं विमानस्थलमा घाममा सुकाएर राखेको छ, भारतीय वायुसेवाले दैनिक ८/१२ उडान गरिरहेका छन्,’ पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘जहाज थन्किएर यात्रुहरुका उडान लथालिङ्ग भइरहँदा हाम्रा पर्यटनमन्त्री सुदन किरातीको ध्यान फेसबुकबाट बाहिर पुग्ने सकेन । त्यहाँ जहाज ग्राउन्डेड हुँदा पनि दैनिक लाखौँ रुपैयाँ भाडाको इन्जिनका बुझाउनुपर्छ ।’

नेपालभरका टिकट बिक्रेताहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले पछिल्लोपटक निगमका उडान ढिलाईमा भइरहेका घटनाप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘नाट्टाले निगमको उडान संस्था र गन्तव्य विस्तारमा सधै पहल गरिरहन्छ । तर, पछिल्लोपटक निगम भएको विश्वसनियता पनि गुमाउँदै गइरहेको छ । अरु वायुसेवामा सयस्या आए/नआएको थाहै हुँदैन । उडान रद्ध गर्ने, गन्तव्यमा नपुग्ने, यात्रुहरू अलपत्र पार्नेमा निगमको जति गुनासो अरु वायुसेवाको सुनिएको छैन ।’ उनले यसबारे सरकार, पर्यटनमन्त्री सुदन किरातीको ध्यान नपुगेको गुनासो गरे ।

निगम प्रवक्ता रमेश पौडेलले ग्राउन्डेड जहाज मर्मत गर्न विदेशी एमआरओ छनौटको काम भइरहेको बताए । ‘जहाज मर्मत गर्न द्वन्द्वग्रस्त क्षेत्र लैजानु पर्ने छ । एमआरओ छनौट हुँदैछ,’ उनले भने ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 48 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.