Fast Nepal News

‘महिला मन्त्री’ बन्ने मेरो पनि चाहना थिएन : मन्त्री आचार्य

banner single news

२४ मंसिर,काठमाडौँ -महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो चाहनाबमोजिम महिला मन्त्री नबनेको बताएका छन् । संविधानले समान सहभागिता र प्रतिनिधित्वको व्यवस्था गरे पनि व्यवहारमा भने महिला मन्त्रालयसमेत पुरूषहरूले नै कब्जा गरेको भन्ने कुरा उठेको भन्दै मन्त्री आचार्यले आफू रोजेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबनेको बताएका हुन् ।

उनले मन्त्री महिला नै हुँदा गर्न सक्ने कामको दाँजोमा आफूले कम हुन नदिन प्रयास गर्ने प्रतिबद्धतासमेत जनाए ।

नेपाल प्रेस युनियन, महिला विभागले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री आचार्यले भने, ‘यहाँ महिला मन्त्रालयमा समेत पुरूष मन्त्री भएको भन्ने प्रशंग उठ्यो । वास्तवमा म पनि चाहेर महिलामन्त्री बनेको होइन । म त चुनाव जितेर आएको मान्छे, विकासे मन्त्रालय नै जान चाहन्थेँ । तर, गठबन्धनमा भागबन्डा मिलाउँदा मेरो भागमा यही मन्त्रालय पर्‍यो ।’

मन्त्री आचार्यले आफूले मन्त्रालयको जिम्मेवारी पाएपछि सकेसम्म महिलाहरूको क्षेत्रमा राम्रो काम गरेर छोड्न चाहेको बताए ।

Inside Article Ads

उनले महिला तथा बालबालिका विभाग खारेज भएको विषयमा गुनासो आएको भन्दै विभागलाई मन्त्रालयमा गाभेर त्यसका कामलाई थप व्यवस्थित गर्न खोजिएको बताए । ‘विभाग खारेज गर्ने काम म आउनुभन्दा पहिल्यैदेखि अघि बढेको रहेछ । म आइसकेपछि त्यसलाई अगाडि बढाइएको हो । तर विभाग खारेज भए पनि यसले गर्ने काम अब मन्त्रालयको एउटा शाखाले गर्नेछ,’ मन्त्री आचार्यले भने, ‘विभाग मन्त्रालयमै गाभिएको हो । तर त्यसको अधिकार कटौती भएको छैन । बरू विगतभन्दा प्रभावकारी बनाउने प्रयास हुन्छ ।’

उनले नेपालको संविधानले महिलाको अधिकार सुनिश्चित गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सबैले पहल लिनुपर्ने बताए ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.