टोड्केको भ्रमण गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर खाने, बस्ने र रमाउनका लागि रिसोर्ट निर्माण भएपछि टोड्के आउने पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीय व्यवसायीले बताउछन्। टोड्के क्षेत्र भ्रमण तथा रिसोर्टमा बस्न आउने पर्यटकहरूलाई स्थानीय उत्पादन मुलाको चटनी, कोदो र फापरको ढिँडो, लोकल कुखुराको मासुलगायत अर्गानिक खाना खुवाउने गरिन्छ । 

अहिले पर्यटकलाई लक्षित गरेर टोड्केमा हाई अल्टिच्युडको प्ले–ग्राउण्ड, वनस्पति उद्यान केन्द्र र हरियाली पार्क निर्माणाधीन अवस्थामा रहेको छ भने रिसोर्टमार्फत कृषि खेती गर्नेतर्फ जोड दिइएको छ । पर्यटन र धार्मिक महत्व बोकेको टोड्के अर्गानिक उत्पादनको हिसाबले पनि अब्बल छ । 

 

थोरै घरधुरी भएको यो ठाउँ व्यावसायिक रुपमा मुला खेती तथा आलु खेतीका लागि पकेट क्षेत्र मानिन्छ । टोड्केका स्थानीयले परम्परागत रुपमा विषादी रहित मुलाको खेती गर्दै आएका छन् । टोड्केमा पर्यटकको आगमन बढाउन सडक सञ्जालको स्तरोन्नति आवश्यक रहेको रिसोर्टका सञ्चालक भीम शेरचनले बताउनुभयो ।