
२१ मंसिर,काठमाडौँ—सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको आज बसेको इजलासले आरतीका श्रीमानलाई थुनामा पठाउन आदेश दिएको हो । अर्का प्रतिवादी मदनमोहन साह (आरतीका ससुरा)लाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश भएको छ ।
गत सात जेठमा जनकपुर उपमहानगरपालिका–८ स्थित श्रीमान मोतीबाबुको घरमा आरती मृत फेला परेकी थिइन् । लगत्तै माइतीपक्षले मोतीबाबु र मदनमोहनविरुद्ध आत्महत्या दुरूत्साहनको जाहेरी दिएका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषाले दुवैलाई पक्राउ गरी अनुसन्धान सकेर अदालतमा जिल्ला अदालत जनकपुरमा मुद्दा दायर गरेको थियो । त्यसपछि गत ३ जेठमा भएको थुनछेक बहसमा जिल्ला अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
त्यसपछि जिल्लाको आदेश बदर गर्न माग गर्दै अभियुक्तको तर्फबाट उच्च अदालतमा निवेदन परेको थियो । अभियुक्तले मागेअनुसार नै उच्च अदालतले आत्महत्या दुरुत्साहनको मुद्दामा प्रमाण नपुगेको भन्दै जिल्ला अदालतको आदेश उल्टाएको थियो ।
त्यसपछि पीडितहरू सर्वोच्च पुगेका थिए । सोही निवेदनमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दै मोतीबाबुलाई थुनामा राख्न तथा मदनमोहनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
समाचार नयाँ पत्रिकामा प्रकाशित छ।