
काठमाडौँ । धादिङकी रसिला तामाङ एसिया ट्रेल मास्टर च्याम्पियनसिपमा प्रथम भएकी छिन्। इन्डोनेसियाको सोलोमा भएको फाइनलमा उनले बेल्जियमकी खेलाडीलाई पछि पारेकी हुन्। शनिबार स्थानीय समय बिहान ६ बजे इन्डोनेसियाको सेन्ट्रल जाभास्थित सेकिपान तावाङमाङुबाट सुरु भएको प्रमुख उपाधिको दौडअन्तर्गत निर्धारित दूरी ७७ किलोमिटर १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गरी उनी विजयी भएकी हुन्। त्यसैगरी बेल्जियमकी भन्ज नोप्स र फोलिपिन्सकी एन्जेली काबालोले सो दूरी क्रमशः १२ घण्टा ३२ मिनेट १६ सेकेन्ड र १४ घन्टा ३ सेकेन्ड ३७ सेकेन्डमा पूरा गरी दोस्रा र तेस्रा भएका छन्।
सन् २०१४ देखि सञ्चालन भइरहेको यो प्रतियोगितामा रसिला पहिलो नेपाली विजेता हुन्। धादिङ धुनिवेशीकी २२ वर्षे रसिला यस अघि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएकी छिन्।
