Fast Nepal News

आरती र भारतीको आवाज माइतीघरमा

एक थिइन् आरती, एक छिन् भारती । दाइजोका नाममा आरतीको हत्या गर्नेलाई पक्राउ नगरिएको भन्दै बाबुआमा र बहिनी १३९ दिनदेखि धर्नामा छन्, उता जघन्य हत्याको अभियोगमा कानुनले दण्डित गरिसकेका रिगल भनिने योगराज ढकालको १२ वर्ष सजाय सरकारले माफी गरिदिएपछि भारती पनि धर्नामा छिन् ।

banner single news

१६ कार्तिक,काठमाडौँ — ज्यान मारेका आरोपीमध्ये कसैलाई पक्राउ नै नगर्ने मात्र होइन, न्यायालयले कसुरदार ठहर गरेकालाई पनि छाडिदिएपछि पीडित परिवार कहाँ जाने ? माइतीघरमा । सरकारले नै कानुनको उपहास गरेपछि भारती र आरतीका परिवार माइतीघरमा धर्नारत छन् ।

धनुषाको नगराइन–८ खिरखिरियाका विनोद प्रसाद र निर्मला साहकी जेठी छोरी हुन्, आरती । उनको जनकपुरधाम–९ थापाचोक घर भएका मदनमोहन साहका छोरा मोती बाबुसँग दुई वर्षअघि २०७८ असार २९ मा मागी विवाह भएको थियो । २० वर्षीया आरती बीबीए दोस्रो वर्षमा पढ्दै थिइन् । ३० वर्षीय इन्जिनियर मोती बाबु जागिरेसमेत भएकाले छोरीले सुख पाउने आशामा केटापक्षको समेत खर्च बेहार्ने गरी आरतीका अभिभावकले बिहे गरिदिए । बिहेपछि दाइजोको माग गर्दै केटापक्षले घरेलु हिंसा र यातना दिन थालेको आरतीका माइतीपक्षको आरोप छ ।

आरतीकी आमा निर्मलाका अनुसार दाइजो माग्दै ससुरा र ज्वाइँले कुटेको गुनासो लिएर गत वैशाखमा आरती माइत आएकी थिइन् । तर गुनासो लिएर आउने छोरीहरूलाई सम्झाइबुझाइ पठाउने नेपाली संस्कार छ, आरतीका अभिभावकले पनि त्यसै गरे । तर, जेठ १० साँझ साढे ६ बजेतिर ससुराले सम्धी विनोदलाई फोन गरी आरती बेहोस भएको र काव्य अस्पतालमा उपचार भइरहेको खबर गरे । अस्पताल पुगेको परिवारले आरतीको मृत्यु भइसकेको खबर पायो ।

दाइजोको निहुँमा आरतीको हत्या भएको दाबी गर्दै परिवार जिल्ला प्रहरी धनुषामा उजुरी गर्न पुग्यो । परिवारले आरतीका श्रीमान् मोती बाबु, ससुरा मदन मोहन, सासू रेनु देवी र देवर रवि साह गरी चार जनाविरुद्ध उजुरी दिन खोजेको थियो । लामो आनाकानीपछि प्रहरीले श्रीमान् र ससुराविरुद्ध मात्रै उजुरी लियो । बाँकीको उजुरी दर्ता नगरेपछि न्यायको माग गर्दै विनोदको परिवार घरै ताला लगाएर काठमाडौं आए । बिरानो सहरमा उनीहरूलाई आश्रय लिने थलो माइतीघर बन्यो । असार १ को रातिदेखि मण्डलमा धर्ना बस्दै आएका उनीहरू अहिलेसम्म उही अवस्थामा छन् । बर्खा, घाम र अब चिसोसमेत सहँदै न्यायको पर्खाइमा छन् । विनोद भन्छन्, ‘छोरी गुमाएँ, न्याय गुमाउँदिनँ ।’

उच्च अदालत जनकपुरले भने आरोपित मोती बाबु र मदन मोहनलाई साधारण तारिखमा छोडेको छ । यसरी हत्या आरोपी खुलेआम हिँड्ने र पीडित परिवार चिसो भुइँमा बस्ने अवस्था लम्बिँदो छ । अझ, न्यायका लागि माइतीघर मण्डलमा निर्मलाले सोच्दै नसोचेको यातना भोगेकी छन् । यहीबीच काठमाडौंमा प्रहरीले लछारपछार पार्दै आमा निर्मलाको सारी च्यातिदियो । माथिको आदेश भन्दै ब्यानर पनि च्यातेर फालिदिए । निर्मला त्यही च्यातिएको सारी लगाएरै सर्वोच्च अदालत पनि धाइरहेकी छन् । उच्च अदालतको आदेश खारेज गर्न माग गर्दै उनीहरूले सर्वोच्चमा रिट हालेका छन् ।

आरतीको परिवार जस्तै पीडामा छिन् भारती । भारतीको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । राज्यले नै दिएको पीडाले छटपटाउँदै उनी न्यायिक उपचार खोज्न काठमाडौं आउन बाध्य भएकी हुन् । कमजोर शरीर लिएर उनी माइतीघरको भुइँमा सुतिरहेकी छन् । छोरी गुमाएकी निर्मला र श्रीमान् गुमाएकी भारती छेउमा छन् । एउटा दुःखीले अर्को दुःखीलाई आश्वासनको मल्हमपट्टी लगाउँदै भन्छन्, ‘नआत्तिनु, सत्यको जित हुन्छ ।’

Inside Article Ads

सुनुवाइ सुन्न भारती पनि सर्वोच्च पुग्छिन् । मंगलबार करिब दुई घण्टाको बहसपछि खाजा समयमा भारती बाहिरिँदा पीडा थाम्न सकिनन् । ‘कस्तो कानुन हो ? मान्छे मारेकालाई बचाउन यति धेरै अध्ययन गर्ने किताब कहाँबाट ल्याउँछन् वकिल ?,’ भारती बर्बराइरहन्थिन् । उनका समर्थकले सम्झाउँथे । तर, चित्त भने बुझाउन मुस्किल थियो उनलाई । ‘मान्छे मार्नेलाई जोगाउन यति पढ्नेहरूले खै कसरी दिन्छन् न्याय ?’, उनी यही दोहोर्‍याउँदै थिइन् ।

सरकारबाट माफी मिनाहा पाएका रिगलविरुद्धको रिटमा सर्वोच्चमा मंगलबारदेखि नियमित सुनुवाइ सुरु भएको छ । २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेको अभियोगमा रिगलसहित चार जनाले जन्मकैदको सजाय पाएका थिए । जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाहा गर्ने सरकारको कदमको विरोध गर्दै भारतीले कसुरदारलाई पुनः कैद गर्न रिट दायर गरेकी हुन् । असोज १९ मा सर्वोच्चका न्यायाधीश मनोज शर्माको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै असोज २५ देखि पूर्ण इजलास गठन गरी निरन्तर सुनुवाइ गरेर मुद्दाको छिट्टै टुंगो लगाउने आदेश गरेको थियो । भारतीले दसैं पर्वको बीचमा अनशन स्थगित गरे पनि शुक्रबारदेखि पुनः अनशन थालेकी छन् । बहसमा जति ढिलासुस्ती हुन्छ, उति भारतीको ज्यान जोखिममा हुने उनका समर्थक बताउँछन् ।

गत सोमबार भारती पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने तर्खरमा थिइन् । मानसिक यातना र कमजोर शरीरकै कारण उनी बोल्न त के उभिनसमेत सकिनन् । सर्वोच्च अदालतमा पहिलो पटक रिट दायर गर्न पुग्दा पनि उनी अदालतकै प्रांगणमा ढलेकी थिइन् । ढल्नु, ब्युँतिनु र रुनु उनको नियति जस्तै बनेको छ ।

दोस्रो विवाह गरेकी भारतीले पहिलो श्रीमान् चेतनको न्यायमा दिलोज्यान दिएर लागेकी छन् । अन्तरजातीय विवाह गर्दाको पीडा उस्तै छ । उनका अनुसार चेतनसँग धेरै संघर्ष गरेर विवाह गरेकी थिइन् । परिवारले स्वीकार गरेका थिएनन् । जातीय व्यवस्थाको थिचोमा लड्दालड्दै बल्लबल्ल बसाएको घरजम अचानक उजाडिएको छ । ‘सबैलाई लाग्छ, मैले लोग्ने मात्रै गुमाएँ,’ भन्छिन्, ‘तर मैले उहाँसँगै बाँच्ने आधारै गुमाएको छु । त्यसको उपचार गर्ने र न्याय दिने कुन न्यायालय छ ?’

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 41 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.