
काठमाडौं । नेपाली सेनाले उमेर सच्याएर बनाएको नागरिकताका आधारमा जागिर खाई प्रधान सेनापति बन्ने लाइनमा लागेका उपरथी ताराध्वज पाण्डेको मिडियामा समाचार अाउन थालेपछि यसको बचाउमा सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति निकाल्न वाध्य भएको छ ।


रथी दर्जामा पदोन्नति प्रक्रियाबारे भ्रमपूर्ण सामग्री प्रसारण भएको भन्दै त्यस्ता समाचारलाई सैनिक जनसम्पर्क निर्देशनालयले खेदजनक भनेको छ । वक्तव्यमा पाण्डेको योग्यता तथा उमेरसम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्थालगायतका निकायहरूबाट यकिन भइसकेको दाबी समेत गरेको छ ।
वक्तव्यमा उल्लेख भए अनुसार ,सेनापति प्रभुराम शर्मा राजनीतिक दबाबमा परेको भन्नेमा पनि सत्यता नरहेको उल्लेख गरिएको छ । रथी बढुवामा सिफारिस भएका ताराध्वज पाण्डेको उमेर कीर्ते सम्बन्धी उजुरीमा परिचय लुकाइएको भन्दै सेनाले आपत्ति जनाएको हो ।
उजुरीको छानबिन नगरी उल्टै उजुरीकर्ताको परिचय लुकाइएको भनेर पाण्डेको पक्षमा मुख्यालय नै खडा भएपछि यो प्रकरण अब अदालत र संसदीय समितिमा जाने भएको छ ।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले रथी बढुवाको सन्दर्भमा आएका विवादबारे आफू जानकार रहे पनि समितिमा औपचारिकरूपमा उजुरी आएकोबारे हाल दशै बिदा भएकाले थाहा नभएको मिडियामा जानकारी दिएका छन्।
उमेर ढाँटेर जागिर खाएका पाण्डेको पदोन्नति सिफारिस रोक्न माग गर्दै अदालती प्रकृयामा जाने स्रोतले जनाएको छ ।
