Fast Nepal News

संसद्‍ अवरोधले व्यवस्थामाथि नै प्रश्न उठ्न थाल्यो : सभामुख घिमिरे

'संसद्‍ अवरोध भइरहने अवस्थाले संसद्‍प्रति नै जनताको वितृष्णा बढेर जाँदैछ । यसले संसदीय व्यवस्थालाई उपेक्षा गर्नेहरूलाई फाइदा पुगेको छ'

banner single news

२ भदौ,काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्‍माथि जनताको वितृष्णा बढेर गएको बताएका छन् । साथै पटकपटक संसद्‍ अवरोध हुँदा व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

सुन तस्करीको प्रकरणलाई लिएर सत्ता पक्ष र प्रतिपक्षी दलको आफ्नै अडानका बीच संसद्‍ खुल्न नसकेको संकेत गर्दै सभामुख घिमिरेले यस्तो परिस्थितिका कारण संसदीय व्यवस्थामाथि उपेक्षा गर्नेहरूलाई फाइदा पुगेको बताए ।

Inside Article Ads

शुक्रबार राजधानीमा आयोजित संसद्‍ सञ्चार सम्बन्ध अन्तरक्रियामा सभामुख घिमिरेले यस्तो बताएका हुन् । यसबीचमा आफूले सभामुखको हैसियतमा सत्ता पक्ष र प्रतिपक्षी दलबीच छलफल र सहमतिका लागि सहजीकरण गरे पनि सफल हुन नसकिरहेको उनको भनाइ थियो ।

सभामुख घिमिरेले शुक्रबार बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर यसबारे कुराकानी गरेको बताएका थिए । पटकपटक संसद्‍ स्थगित गर्नुपर्दा छलफल र विमर्श गर्ने अवसर छुटेकोमा उनले चिन्ता व्यक्त गरेका थिए ।

‘यसबीचमा धेरै प्रयत्न गरियो । जेजे छलफल गर्नुछ यहीँ गरौं । जे विमति छन् वा विवाद छन् भने पनि संसद्‍मै गरौं भनेर दुवै पक्षसँग बसेर समन्वय र सहजीकरण गरिएको छ । समर्थन, विरोध, विमति जेजति छन् संसद्‍ खोलेरै गरौं भनेर समन्वय गरिएको छ । यति हुँदा हुँदै पनि सहमति भएको छैन । यसले गर्दा संसद्‍प्रति नै जनताको वितृष्णा बढेर जाँदैछ । यसले संसदीय व्यवस्थामाथि उपेक्षा गर्नेहरूलाई फाइदा पुगेको छ,’ सभामुख घिमिरेले भने ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले बारम्बार अवरोध गर्दा संसद पटक पटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक भदौ ३ गतेका लागि संसद्‍ बैठक आह्वान गरिए पनि संसद्‍ खुलाउने विषयमा अहिलेसम्म एमालेले सहमति जनाएको छैन । सभामुख घिमिरेले भने यसअघि पनि संसद्‍ अवरोधका कारण कतिपय महत्त्वपूर्ण कानुन निर्माणका काम रोकिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 53 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.