
२५ श्रावण,कैलाली — अविरल वर्षाका कारण कैलालीका विभिन्न पालिकाहरुमा नौ सयभन्दा बढी घर डुबानमा परेका छन्। तीमध्ये भजनी नगरपालिकाका अधिकांश परिवार बढी प्रभावित छन् ।
भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीका अनुसार भजनीका विभिन्न वडामा बसोवास भएका नौ सय परिवार बाढीबाट पूर्ण रुपमा प्रभावित छन् । उनका अनुसार अत्यधिक प्रभावित वडा नम्बर ३ का गाउँहरु कुशुमघाट, ढुसी, बर्दवा, कनैयापुर, ८ वडाका बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटा क्षेत्रका प्रभावित अधिकांश परिवारहरु हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर बस्न बाध्य छन् ।
केही परिवार भने सार्वजनिक भवनहरुमा आश्रय लिएर बसिरहेका छन् । नगरप्रमुख चौधरीले ३ वडामा काँढा नदीको बहावले डुबान गरेको हो भने ८ नम्बर वडामा पथरैया नदीको बहावले डुबान गरेको बताए । ३ र ८ बाहेक ५ र ७ नम्बर वडाका बासिन्दाहरु पनि प्रभावित रहेको उनको भनाइ छ ।
प्रभावित परिवारहरु अलपत्र जस्तै परेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । ‘मेरो घर मात्रै होइन पूरै गाउँ नै डुुबानमा परेको छ । ज्यान जोगाउन घर छाडेर सडक छेउमा त्रिपाल टाँगेर बसेका छौं,’ ढुसी गाउँका जनक चौधरीले भने, ‘कहिले बाढी घट्ने हो र कहिले फर्किन पाइने हो । केही ठेगान छैन ।’
समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।
