Fast Nepal News

१२ घण्टापछि एकको जीवितै उद्धार, पाँच बेपत्ता

banner single news

२४श्रावण,मकवानपुर-५ सिक्रे दोभानमा मंगलबार पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ मध्ये एकजनाको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ।

१९ वर्षीय पासाङ घिसिङलाई करिब १२ घण्टापछि जीवितै उद्धार गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। उनलाई घटनास्थलबाट करिब पाँच किलोमिटर तल बागमती गाउँपालिकाको बगेरीमा बागमती किनारबाट उद्धार गरिएको प्रवक्ता कार्कीले बताए।

घिसिङको शरीरभरि चोट लागेको छ। उनको हेटौँडा अस्पतालमा उपचार हुँदै छ। सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका–१ घर भएका घिसिङ अक्कलबहादुर  स्याङतानको घरमा सोमबार पाहुना लाग्न आएका थिए।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण मंगलबार बिहान ४ बजे अक्कलबहादुरको घर पहिरोले बगाएको थियो। पहिरोले अक्कलबहादुरसहित घरमा रहेका सातजनालाई बगाएको थियो।

पहिरोमा परी अक्कलबहादुरकी ५५ वर्षीया श्रीमती शान्तिमाया स्याङतानको मृत्यु भएको छ। उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लैजाँदै गर्दा मृत्यु भएको थियो।

अन्य पाँचजना बेपत्ता छन्। बेपत्ता हुनेमा ६० वर्षका अक्कलबहादुर, उनकी २२ वर्षीया छोरी शिला पहरी, २५ वर्षीया ज्वाईं जीवन पहरी, चार वर्षीया नाति मिलन पहरी र डेढ वर्षीया नातिनी दिव्या पहरी छन्।

बेपत्ताको खोजी मंगलबार पनि
पहिरोमा परी बेपत्ता भएका पाँचजनाको खोजी कार्य मंगलबार पनि गरिने भएको छ। सोमबार बेलुकीसम्म फेला नपरेकाले मंगलबारबाट पुनः खोजी सुरु गरिने डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।
घटनास्थल दुर्गम स्थानमा रहेको, सडक मार्ग अप्ठेरो रहेको र रातको समयमा खोजी तथा उद्धार कार्य कठिन हुने भएकाले रोक्नुपरेको उनले बताए। खोजी कार्यमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय झुरझुरे, प्रहरीचौकी भोर्लेनीलगायतका युनिटबाट करिब ३५ जना परिचालन भएका छन्।

Inside Article Ads

अवरुद्ध भीमफेदी–कुलेखानी सडकखण्ड खुल्यो
बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने विभिन्न सडकखण्ड लगातारको वर्षाले प्रभावित भएका छन्। दुईदिनको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरोका कारण सोमबार रातिदेखि अवरुद्ध सडकखण्डहरू मंगलबार दिउँसोबाट भने सञ्चालनमा आएका छन्।

पहिरोको कारण सोमबार रातिदेखि बन्द भएको हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी र कान्तिलोकपथ मंगलबार दिउँसोबाट सञ्चालनमा आएको छ। पहिरो हटाउने काम सकिएपछि मंगलबार दिउँसोबाट ती दुई सडकखण्डहरू सञ्चालनमा आएको प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

सोमबार राति साँढै ११ बजे भीमफेदी गाउँपालिका– २, ज्यालटारस्थित उक्त सडकखण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो। यस्तै, काठमाडौं जोड्ने अर्को छोटो दूरीको कान्तिराजपथ पनि अपराह्नबाट एकतर्फी सञ्चालनमा आएको प्रवक्ता कार्कीले जानकारी दिए।

कान्तिराजपथको बकैया गाउँपालिका– ११ लामराङमा गएको पहिरो पन्छाएपछि हाललाई एकतर्फी बाटो सञ्चालनमा आएको हो। उक्त स्थानमा ठूलो ढुंगा खसेका कारण दुईतर्फी यातायात सञ्चालनमा समस्या भएको प्रवक्ता कार्कीले बताए।

यस्तै, धरान–चतरा सडकखण्डअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका– ४ पाँचपाण्डवमा बागमती नदीमा आएको बाढीले मदन भण्डारी राजमार्गको केही भागमा कटान गर्दा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। यस सडकखण्ड भएर साना सवारीसाधन मात्रै सञ्चालन भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए।

बागमती नदीमा आएको बाढीले उक्त क्षेत्रमा रहेका ६ घरधुरी डुबानमा परेका छन्। उक्त स्थानबाट स्थानीयलाई अन्यत्र सारिएकाले कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ।

समाचार नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.