Fast Nepal News

काठमाडौं महानगरका सहकारीमा गम्भीर समस्या : दश हजार बचतकर्ताको २० अर्ब हिनामिना गर्ने ६८ सहकारीमाथि कारबाही सिफारिस

banner single news

१४ असार,काठमाडौँ-काठमाडौं महानगरपालिकाले सर्वसाधारणको निक्षेप हिनामिना गरेका ८३ मध्ये ६८ सहकारीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई सिफारिस गरेको छ । उनीहरूले दश हजारभन्दा बढी बचतकर्ताको २० अर्बभन्दा बढी हिनामिना गरेको अनुमान छ ।

एकपछि अर्काे ठूला सहकारी समस्यामा परिरहेका वेला काठमाडौं महानगरपालिकाभित्रका दर्जनौँ सहकारीले पनि सर्वसाधारणको निक्षेप हिनामिना गरेको पाइएको हो । सहकारीहरूले बचतकर्ताको ठूलो रकम हिनामिना गरेपछि महानगरको सहकारी विभागमा उजुरी दिनेको संख्या बढेको छ ।

महानगरभित्र रहेका सहकारीहरू पनि सञ्चालकको बदनियतका कारण समस्याग्रस्त बनेको महानगरका सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले बताए । उनका अनुसार सरकारीले ठगी गरेको भन्दै हिनहुँ महानगरमा उजुरी दिनेको संख्या बढेको छ । ‘हामीकहाँ रहेका सहकारीमध्ये धेरैले रकम हिनामिना गरेको पाइएको छ,’ उनले भने, ‘सामान्य प्रमाण र बचतकर्ताको उजुरीका आधारमा कारबाहीका लागि हामीले ६८ सहकारीको विवरण नेपाल प्रहरीको सिआइबीलाई पठाएका छौँ ।’

विभागको तथ्यांकअनुसार महानगरभित्र कार्यक्षेत्र रहेको सहकारीको जम्मा संख्या एक हजार नौ सय ४५ रहेको छ । यीमध्ये ६८ सहकारीले बचतकर्ताको रकम हिनामिना गरेपछि सिआइबीमा कारबाहीको निम्ति सिफारिस भएको हो । महानगरका अन्य १५ सहकारीविरुद्ध पनि उजुरी परेका छन् । ६८ वटामा सिआइबीको सुनुवाइ भएपछि थप सहकारीलाई कारबाहीका लागि पुनः सिफारिस गरिने विभाग प्रमुख त्रिपाठीको भनाइ छ ।

रकम हिनामिना गरेका अधिकांश सहकारीका सञ्चालकसमेत भागेपछि महानगरको सहकारी विभागले समन्वय गर्न नसकेपछि फाइल सिआइबीलाई पठाएको हो । ‘हामीकहाँ रहेका सहकारीमध्ये धेरै सहकारी धराशयी छन्, उनीहरूले बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेका छन्,’ विभाग प्रमुख त्रिपाठीले भने, ‘हामीले दुई पक्षलाई राखेर समन्वय गर्न नसकेपछि प्रहरीको जिम्मा लगाएका हौँ ।’

हाल संघ, प्रदेश र स्थानीय तह कार्यक्षेत्र बनाई तीन प्रकारका सहकारी सञ्चालनमा छन् । आफ्नो कार्यक्षेत्रमा रहेका सहकारीका आधारमा स्थानीय तह, प्रदेश र संघले निगरानी गर्ने गर्छन् । स्थानीय तहकै बचतकर्ता, कार्यालय र सदस्य रहेको सहकारी नियमन गर्ने जिम्मा स्थानीय तहको हो । तर, कार्यक्षेत्र ठूलो र छरिएका बचतकर्ता छन् भने त्यसमा संघ तथा प्रदेशले नियमन र निगरानी गर्ने गर्छ । सिआइबीमा सहकारीविरुद्ध उजुरीका चाङ लागेका छन् । एकैपटक धेरै उजुरी आएपछि उसले पनि त्यसउपर अनुसन्धान अघि बढाउन सकेको छैन । 

Inside Article Ads

अभिमत सहकारीले ठग्यो दुई अर्ब

महानगरको क्षेत्राधिकारभित्र सञ्चालनमा रहेको सबैभन्दा ठूलो बचत तथा ऋण सहकारी संस्था अभिमत सहकारी हो । यो सहकारीले झन्डै दुई हजार बचतकर्ताको दुई अर्बभन्दा धेरै रकम हिनामिना गरेको पाइएको छ । बचतकर्ताले उजुरी दिएपछि महानगरले कारबाहीका लागि सिआइबीमा फाइल तथा निवेदन पठाएको छ । हाल यो सहकारीका सञ्चालक फरार रहेको महानगरले जनाएको छ । ठूलो रकम लिएर सञ्चालक भागेपछि बचतकर्ता तथा सदस्यले उजुरी दिएका थिए ।

प्रतिवेदनको विवरण पेस गर्न ३० दिनको समय

काठमाडौं महानगरपालिकाले एक महिनाभित्र महानगरभित्र रहेका सहकारीलाई महानगरको सहकारी विभागमा संस्थाको साधारणसभा र लेखापरीक्षण प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । ‘कानुनी व्यवस्था हुँदाहुँदै केही सहकारी संस्थाले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएबमोजिमका विवरण समयमै पेस गर्ने गरेको नपाइएको हुँदा यो सूचना प्रकाशित गरिएको छ,’ महानगरको सूचनामा छ ।

समाचार नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.