
१२ असार,काठमाडौँ-एक सर्वेक्षणमा सुर्तीजन्य पदार्थको सेवन गर्ने पुरुषको संख्या महिलाको तुलनामा झन्डै ६ गुणा बढी रहेको पाइएको छ । नेपाल डेमोक्रेटिक हेल्थ सर्भे–२०२२ का अनुसार पाँच प्रतिशत र २८ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन्।

सर्भेका अनुसार नेपालमा दैनिक पाँचवटा भन्दा बढी चुरोट सेवनकर्ताको संख्या बढिरहेको पाइएको छ । चुरोट सेवनकर्ता मात्रै पाँचजना महिला प्रयोगकर्ताको तुलनामा २८ जना पुरुष प्रयोगकर्ता रहेको पाइएको छ । जसमध्ये पनि १७ प्रतिशत पुरुषले दैनिक अत्यधिक रूपमा चुरोट प्रयोग गर्ने गरेका छन् ।
पछिल्लो समय नेपालमा क्यान्सर, क्षयरोग, मुटुरोग र श्वासप्रश्वाससम्बन्धी समस्यालगायत नसर्ने रोगको दर उल्लेख्य रूपमा बढिरहेको छ । रोगको भार र उच्च मृत्युदरको कारक बनिरहेको सुर्तीजन्य पदार्थको प्रयोग विगत दुई दशकमा केही कमी आएको छ । सन् २००१ को तुलनामा सुर्तीजन्य पदार्थ सेवन गर्ने महिलाको संख्या धेरै घटेको छ ।
महिलाको तुलनामा पुरुष प्रयोगकर्ता थोरै घटेका छन् । सन् २००१ कुनै पनि प्रकारको सुर्ती सेवन गर्ने महिला २५ प्रतिशत थिए भने २०२२ मा पाँच प्रतिशतमा झरेको छ । यस्तै, चुरोट सेवनकर्ता महिला २००१ मा २३ प्रतिशत रहेकोमा हाल चार प्रतिशतमा झरेको छ । यसबाहेक २००१ मा कुनै पनि प्रकारको सुर्ती सेवन गर्ने पुरुषको संख्या ४५ प्रतिशतबाट झरेर २०२२ मा २८ प्रतिशत पुगेको छ ।
सुर्तीजन्य पदार्थको सेवन शिक्षाको अभावसँग तुलना गरेर अध्ययन गरिएको थियो । जसमा सुर्तीजन्य पदार्थले स्वास्थ्यलगायत सम्पूर्ण जीवनशैलीमा पारिरहेको असरबारे जनचेतना नहुने समूहमा प्रयोग बढी भइरहेको देखाएको हो ।
अध्ययनअनुसार अशिक्षित रहेका १६ प्रतिशत महिला र ७३ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेका छन् । यसबाहेक आधारभूत शिक्षा लिएका सात प्रतिशत महिला र ६३ प्रतिशत पुरुष, माध्यमिक तहसम्म शिक्षा लिएकाहरूमा दुई प्रतिशत महिला र ३८ प्रतिशत र शिक्षित वर्गमा तीन प्रतिशत महिला र २५ प्रतिशत पुरुषले कुन न कुनै सुर्तीजन्य वस्तु सेवन गरिरहेको पाइएको हो ।
तर, प्रयोगकर्ता मात्रै नभई वरपर रहने ननस्मोकर्सहरूमा पनि यसको असर उत्तिकै देखिने गरेकाले नेपालमा झन्डै शतप्रतिशत जनसंख्या सुर्तीजन्य पदार्थबाट प्रभावित भइरहेको चिकित्सक बताउँछन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा. नीरज बम भन्छन्, ‘सुर्तीजन्य पदार्थमा प्रयोग हुने निकोटिनलगायत अन्य रसायन मानव स्वास्थ्यका लागि जोखिमयुक्त छन् । यसले क्यान्सर र अन्य नसर्ने रोगको मात्रै जोखिम बढाएको छैन, शरीरका हरेक अंग र प्रणालीमा असर गरिरहेको छ । पछिल्ला अध्ययनले गर्भमा हुर्किरहेको बच्चामा समेत यसको असर परिरहेको देखाएका छन् ।’
सुर्तीजन्य पदार्थको बजारमूल्य बढ्यो, तर कर बढेन
सुर्तीजन्य हरेक पदार्थमा खुद्रा मूल्यको ७५ प्रतिशत कर लगाउनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड नेपालमा लागू हुन सकेको छैन । जोखिमयुक्त वस्तुको प्रयोगमा राज्यले आवश्यकताअनुसार करको दायरा बढाउन सक्छ । तर, नेपालमा सुर्तीजन्य वस्तुमा समेत करको दर अन्य वस्तुबराबर हुनु मुख्य समस्या रहेको जनस्वास्थ्यविद् बताउँछन् ।
नेपालमा स्वास्थ्य मन्त्रालयले ४१ प्रतिशत कर लागू गरेको बताइए पनि ३३.२५ प्रतिशत मात्रै कर उठाइरहेको पाइएको छ । सुर्तीजन्य पदार्थमा हाल ११.५ प्रतिशत भ्याट, चार प्रतिशत स्वास्थ्य जोखिम कर र १८ प्रतिशत आन्तरिक राजस्व र केही प्रतिशत मात्रै मूल्य अभिवृद्धि कर समावेश छ ।
नेपालमा चुरोटलगायत गुट्खा र अन्य सुर्तीजन्य वस्तुमा मूल्य बर्सेनि बढिरहे पनि कर बढ्न सकेको छैन । चुरोटको ७५ मिलिमिटरदेखि ८५ मिलिमिटरका आधारमा प्रतिखिल्ली चुरोटमा जम्मा ६० पैसा र गुट्खाजन्य पदार्थमा प्रतिकिलो ६० रुपैयाँ मात्र कर उठाइने गरिन्छ । जुन समयसमयमा वृद्धि भइरहने मूल्यको आधारमा निकै कम हो ।
समाचार नयाँ पत्रिकामा प्रकाशित छ।
