Fast Nepal News

भ्रष्टाचार आरोपमा धमाधम मुद्दा दायर हुँदै

banner single news

१२ असार,कञ्चनपुर -महाकाली नदीबाट निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) उत्खननमा आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भीमदत्त नगरपालिकाका तत्कालीन नगर प्रमुख सुरेन्द्र विष्टसहित १२ जनाका नाममा विशेष अदालतमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । नगर प्रमुख विष्टसँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टलगायतका नाममा मुद्दा दर्ता भएको हो ।

आर्थिक वर्ष ०७७/०७८ मा निर्माण सामग्री उत्खननको रोयल्टीमा ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सनलाई लाभ पुग्ने गरि न्यूनतम कबोल अंक घटाएर आर्थिक अनिमियतता गरेको आरोपमा उनीहरुमाथि मुद्दा दर्ता भएको हो । यसरी कबोल अंकमा छुट दिँदा नगरपालिकाको ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैंया राजस्व गुमेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, राजस्व छुटका लागि गठित कार्यदलका संयोजक तथा वडा नं. १७ का अध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखा अधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालयसिंह ऐर र गोविन्द उपाध्यायका नाममा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । चन्दको कार्यदलले कोरोना संक्रमण कालमा दामासाही हिसाबले ३९ दिनको रोयल्टी छुट दिन सकिने प्रतिवेदन पेस गरेको थियो भने प्रशासकीय अधिकृत धामी, शाखा अधिकृत शाह र इन्जिनियर हिमालय सिंह ऐर साक्षी बसेका थिए ।

यसैगरी महाकालीबाट निर्माण सामग्री उत्खननको ठेक्का पाएको निर्माण कम्पनी भवानी कन्स्ट्रक्सन प्रालिका सञ्चालक केशवराज भट्ट, पुष्पराज भट्ट र आधिकारिक प्रतिनिधि दिवाकर भट्ट तथा इश्वरी भट्टका नाममा मुद्दा दर्ता भएको छ । महाकालीको रोयल्टी शुल्क उठाउने ठेक्कामा ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ चुहावट भएको देखिँदा चारै जनाविरुद्ध सोही रकम बिगोसहित सजाय मागदाबी गरिएको छ । निर्माण क्मपनीका प्रतिनिधि ईश्वरी भट्टको मृत्यु भइसकेका कारण उनकी श्रीमती खगेश्वरी भट्टबाट बिगो असुलउपरको मागदाबी गरिएको छ ।

महाकालीकै रोयल्टीमा ५ करोडभन्दा बढीको अनियमितता भएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित ९ जनाका नाममा वैशाखमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ । इन्जिनियर हिमालयसिंह ऐर, लेखा अधिकृत गोविन्दराज उपाध्यायलगायतका नाममा मुद्दा दर्ता भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले महाकालीको रोयल्टीसम्बन्धी थप एक मुद्दामा अनुसन्धान गरिरहेको छ ।

Inside Article Ads

नगर विकास समितिको लिज प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु

यतिमात्रै होइन तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन लिज तथा बिक्री गर्दा भएको अनियमितता विषयमा पनि दोस्रो चरणको अनुसन्धान चलिरहेको छ । हालसम्म जमिन लिजमा लिनेदेखि दिनेसम्म गरी १४० जनाका नाममा विशेष अदालतमा मुद्दा दर्ता भइसकेको छ । थप १८० जनाका नाममा मुद्दाको तयारी भइरहेको आयोगको महेन्द्रनगर कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङले बताए ।

यातायात कार्यालय कैलालीका कर्मचारीमाथि मुद्दा दर्ता

यसैगरी शुक्रबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा फेल भएकालाई प्रयोगात्मक परीक्षामा सहभागी गराएको तथा प्रयोगात्मक परीक्षामा फेल भएकालाई सवारी चालक अनुमतिपत्र दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कैलालीका तत्कालिन प्रमुख लक्ष्मण शाही, सहायक कम्प्युटर अपरेटर नरेन्द्र कुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावल उपर सरकारी कागजात सच्याएको एवम् परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.