
२६ बैशाख,काठमाडौँ-सर्लाही–४ बाट निर्वाचित स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबार प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारको विषयमा बोल्न नपाएको भन्दै कपडा खोलेर संसदीय मर्यादा उल्लंघन गरेका छन् ।
बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णयअनुसार विशेष र आकस्मिक समय कटौती भएको जानकारी गराएका थिए । सिंह र नेमकिपाका सांसद प्रेम सुवालले भने नक्कली भुटानी शरणार्थीको विषयमा ठूला नेताहरूको मिलेमतोबारे आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै समय मागे । उनीहरूलाई बोल्नका लागि सभामुखले समय नदिएपछि उठेर विरोध जनाए । सभामुख घिमिरेले बैठकको कारबाही अघि बढाउन थालेपछि सिंहले कोट, सर्ट र गन्जी खोलेर विरोध जनाएका हुन् ।
संसद्मा सिंहले लुगा खोलेर ‘अमर्यादित हर्कत’ गरेपछि कांग्रेस, एमाले, रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाए । उनीहरूले सिंहलाई कारबाहीका लागि सभामुखसमक्ष माग राखे । सभामुख घिमिरेले संसद् बैठकमा अशिष्ट, अश्लील, अपमानजनक र आपत्तिजनक व्यवहार नदेखाउन बारम्बार चेतावनी दिए तर सिंहले केही बेर अटेर गरे र अर्धनग्न अवस्थामै बसिरहे । बोल्न पाउनुपर्ने अडान कायमै राखे । संसद्मै कपडा खोल्नुले प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘घ’ आकर्षित हुने सभामुखले सिंहलाई सम्झाए । ‘तपाईंलाई म चेतावनी दिन चाहन्छु, तपाईं यो अशिष्ट व्यवहारबाट फर्केर बस्नुस् । सभ्यताका साथ नियमअनुसार आफ्नो कुरा राख्नुहोस् । नियामावलीको ३० अन्तर्गत बैठकमा यस्ता खालको व्यवहार नगर्नुस् । थप अन्य कारबाही हुन सक्छ ।’
नियमावलीमा ‘संसद्मा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने’ व्यवस्था छ । नियमावलीको व्यवस्था उल्लंघन गरेको भन्दै सभामुख घिमिरेले अन्यथा कारबाही हुने चेतावनी दिएका हुन् । सभामुखले थप कारबाहीको चेतावनी दिएपछि हतारहतार कपडा लगाएर सिंह केही समय कुर्सीमा बसे । बैठक सुरु भएपछि भने उनी बाहिरिए । उनले संसदीय मर्यादाविपरीत बैठकमा अर्धनग्न भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
सांसद सिंहले भने नक्कली शरणार्थीसँग पैसा उठाउनेलाई जोगाउन र बयानसमेत परिवर्तन गराउन राजनीतिक नेतृत्व लागिरहेको सूचना पाएकाले यस विषयमा बोल्न समय नदिइएपछि लुगा खोलेरै विरोध गर्नुपरेको बताए । ‘बैठक सुरु हुनुभन्दा १५ मिनेटअघि सभामुखलाई भेटेर भ्रष्टाचारको विषयमा बोल्न समय मागेको थिएँ, समय नदिए लुगा खोलेर विरोध गर्छु भनेर पहिल्यै भनिसकेको थिएँ,’ उनले भने । सत्तारूढ दलले शरणार्थीको घटनालाई धेरै नउठाऊ भनेर थामथुम गर्न खाजेको उनको आरोप छ । ‘जनताको आवाज उठाउन खोजेको थिएँ, समय नपाएपछि अन्तर्राष्ट्रियस्तरमा अपनाउने विरोधको शैली मात्रै अपनाएको हुँ,’ उनले भने ।
प्रतिनिधिसभा बैठक बस्नुअघि सोमबारै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । बैठकले आकस्मिक र विशेष समय नराख्ने सहमति गरेको थियो । समय माग गर्ने सिंह र सुवाल समितिमा छैनन् । बैठकको निर्णयअनुसार नै उनीहरूलाई समय नदिएको सभामुखको सचिवालयले जनाएको छ । संघीय संसद्ले सिंहको गतिविधिलाई संसद्मा भएको अर्को नयाँ हर्कतका रूपमा लिएको छ ।
‘संसद्मा संसदीय मर्यादाविपरीत यस्ता घटना विगतमा पनि भएका थिए, यो नयाँ खालको भयो,’ संसद सचिवालयका एक कर्मचारीले भने, ‘मर्यादाविपरीत गतिविधि गर्ने सांसदलाई कारबाही नहुँदा यस्ता घटना दोहोरिने गरेको छ ।’ अघिल्लो संसद्मा ०७८ भदौ २५ मा सभामुख अग्निप्रसाद सापकोटाको विरोध गर्दै एमाले सांसद रेखा झाले माइकले हान्न खोज्दा मर्यादापालकले समाएका थिए । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको अगाडि रहेको माइक तानेर उनले सभामुख सापकोटालाई हान्न खोजेकी थिइन् । उनलाई कुनै कारबाही भएन । सभामुखले संविधानविपरीत सदन चलाएको भन्दै एमालेले विरोध गरिरहँदा उनले माइक तानेकी थिइन् ।
संविधानसभामा पनि सभासदहरूले चप्पल हान्ने, संसद्को कुर्सी तोडफोड गर्ने, अर्थमन्त्रीको ब्रिफकेस खोस्ने, संसदीय समितिको कुर्सी फ्याँक्ने, आफ्नै लुगा च्यात्नेजस्ता गतिविधि गरेर संसदीय मर्यादा उल्लंघन गरेको संसद् सचिवालयले जनाएको छ । ०६४ मा संविधानसभाको पहिलो बैठकमा सभासद कमला शर्माले कांग्रेसका पूर्णबहादुर खड्कालाई चप्पलले आक्रमण गरेकी थिइन् ।
२०६७ मंसिर ३ मा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा बैठकमा बजेट प्रस्तुत गर्न जाँदा माओवादी सांसदहरू लेखराज भट्ट, सूर्यमान दोङ, चन्द्रबहादुर थापा र राजकाजी महर्जनले संसद् अवरुद्ध गर्दै उनको हातबाट ब्रिफकेस खोसेर बजेट वक्तव्य च्यातिदिएका थिए । भट्ट अहिले एमाले सचिव छन् भने थापाले पनि माओवादी छाडिसकेका छन् ।
सत्तापक्ष र विपक्षबीच घम्साघम्सी भएपछि केही सांसदको लुगा च्यातिएको थियो । तत्कालीन सभामुख सुवाचन्द्र नेम्वाङले संसद् बैठक नै स्थगित गर्नुपरेको थियो । त्यसपछि आर्थिक वर्ष २०६७/६८ का लागि अध्यादेशमार्फत बजेट सार्वजनिक गरिएको थियो । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले २०६७ मंसिर ४ मा सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको हलमा बजेट वक्तव्य पढेका थिए ।
सभासद विश्वेन्द्र पासवानले ०६७ चैत १७ मा संवैधानिक समितिको बैठकमा विरोध जनाउन चार तला माथिबाट कुर्सी बाहिर फ्याँकेका थिए । त्यस्तै ०७१ माघ ५ मा संविधानका विवादित विषयप्रति विरोध जनाउँदै माओवादी सभासद् उमेश यादवले संविधानसभाकै कुर्सी उठाएर फ्याँकेका थिए ।
विरोधको शैली फरक ढंगले प्रस्तुत गर्ने सांसद पनि थिए । प्रतिनिधिसभाको ०७९ जेठ १४ को बैठकमा माओवादीका गजेन्द्र महतले प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरूप सभामुखलाई तालाचाबी बुझाएका थिए । त्यस्तै ०७५ फागुन ८ मा कांग्रेस सांसद उमा रेग्मीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा समानुपातिक सांसदलाई विभेद गरेको भन्दै सदनमै कागज च्यातेकी थिइन् ।
समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।
