
२०८० बैशाख । एड ओए मिडियाको आयोजना र नेपाल पर्यटन बोर्डको सह आयोजनामा पत्रकारको एक टोलीले लाङटाङ क्षेत्रको भ्रमण सम्पन्न गरेको छ । काठमाडौंबाट वैशाख ०५ गतेदेखी यात्रा शुरु गरेको उक्त टोलीले ११ गते लाङटाङ क्षेत्रको भ्रमण गरेको हो । लाङटाङको प्रबर्द्धनात्मक भिडियो छायांकन गर्ने योजना अनुरुप पत्रकारहरुले सो क्षेत्रका विभिन्न स्थानहरुको भ्रमण गरेका छन् । कार्यक्रम गोसाइँकुण्ड गाउँपालिका ,न्यु भिजन नेपाल र गरिमा भोइज ट्राभलको सहकार्यमा सम्पन्न भएको हो ।
लाङटाङ चिनारी
पदयात्रामा रमाउने पर्यटकका लागि उपयुक्त गन्तब्य हो, लाङटाङ । राजधानीबाट नजिक र तुलनात्मक रुपमा छोटो समयमा पूरा हुने भएकाले पनि यो पदमार्गमा पर्यटक आकर्षित छन् ।राजधानी काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य लाङटाङ उपत्यका पुग्नलाई समस्या छैन । काठमाडौंबाट करिब १२५ किमिको यात्राका लागि स्याफ्रुबेंसीसम्म सहजै बस पाइन्छ । करिब ८ घन्टा यात्रा गरेपछि रसुवाको स्याफ्रुबेसी पुगिन्छ । त्यहाँबाट शुरु हुन्छ, लाङटाङ पदयात्रा ।
स्याफ्रुबेसीबाट झोलुङ्गे पुल तरेर लाङटाङ खोलाको तिरैतिर कटुसको सुगन्ध र गुराँसका रंगीविरंगी जंगलको दृष्यपान गर्दै अघि बढ्दा थकान को पत्तै हुदैन। उकाली–ओराली, झरना, वन वनस्पति, चट्टान, पहाड तथा हिमाली भेगको स्थानीय भेषभूषा रुचाउने पर्यटकका लागि लाङटाङ उपयुक्त गन्तब्य हो । अझ विभिन्न स्थानमा खुलेका सुविधासम्पन्न लज तथा व्यावसायीको न्यानो आतिथ्य लाङटाङका विषेशता हुन् ।
तीन दिनको यात्रामा स्याप्रुबेसि बाट बन्दै गरेको लाङटाङ खोला जलविद्युत आयोजना हुँदै पहिरो, बम्बो रिम्चे, लामा होटेल, घोडातबेला, थान्स्याप , गुम्बा डाडा, लाङटाङ मुन्डु , सिन्डुम हुँदै क्यान्जिङ पुगिन्छ । समुद्री सतहबाट चार हजार मिटरको उचाईमा रहेको क्यान्जिङ उपत्यका लाङटाङ खोलाको उद्गम स्थल हो । त्यहाँबाट करिब दुई घण्टाको ठाडो उकालो लागेपछि घ्यासा(गोन्जला बेस क्याम्प ) पुगिन्छ । घ्यासा बाट आँखै अगाडी लाङटाङ लिरुङ हिमाल देखिन्छ ।
सात हजार दुई सय २७ मिटर अग्लो लाङटाङसँगै याला पिक (५५००) गान्छाम्पो (६३७८) नेय घाङ(५८४४) स्काउट पिक (५७१०) चेर्को पिक (५७००) घाङ्जला चुली (५८६३) लाङ्सिसा रि (६४२७)हिमाल पनि यहिँबाट देखिन्छन् । दुई हिमालको बीचबाट बग्ने लिरुङ हिमनदी प्रकृतिप्रेमीका लागि अभूतपूर्व दृष्य हुन् ।
