
८ बैशाख,पाल्पा- पाल्पाको रम्भा गाउँपालिका–५, ताहुँस्थित जंगलमा लागेको डढेलो बस्ती नजिक पुगेको छ । डढेलोले थाकखोला तल्लो भेगका जीवन बैदवारको गोठ जलेको छ । रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठका अनुसार सुरक्षाकर्मी र स्थानीयको सहयोगमा घरमा सल्किनबाट जोगाइएको छ । डढेलोको मुस्लो ठूलो भएकाले र स्रोत-साधन नभएकाले निभाउन समस्या भएको उनले बताइन् ।
डढेलो बुधबार दिउँसो तल्लो मलेङको बस्ती नभएको स्थानबाट सुरु भएको हो । स्थानीय विनोद श्रेष्ठका अनुसार बेलुकीमात्र मलेङ क्षेत्रमा निभाउने प्रयास गरिएको थियो । बस्ती नजिक सबै सचेत भएर बसे पनि जंगल क्षेत्रमा निभाउन जान सकिएको थिएन । अहिले रम्भादेवी रातमाटे खुलखुलले सामुदायिक वन जंगल क्षेत्रमा डढेलो भीषण रुपमा लागिरहेको छ ।
स्थानीय दयाप्रसाद श्रेष्ठका अनुसार जंगलमा गएर डढेलो नियन्त्रणमा लिन सकिने अवस्था छैन । यद्यपि सुरक्षाकर्मी, स्थानीय बासिन्दा ५ सयभन्दा बढी बस्ती नजिक खटिएका छन् । घरघरमा पानी जोहो गरेर बसेको र बस्ती नजिक आयो भने पानी खन्याउने योजना बनाएको उनले बताए । उनका अनुसार ताहुँ बजार क्षेत्र र थाकखोला बढी जोखिममा छ । ‘हावा नचल्ने हो भने समस्या हुन्न,’ उनले भने, ‘हावा चल्यो भने खतरा नै छ ।’
डढेलो बस्तीमा आउन नदिन प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा सबै होसियारीपूर्वक बसेका छन् । बेलुकीपख थाकखोलाका १५ बढी घर जोखिममा परेको छ । थप ३५ घर पनि ताहुँ क्षेत्रका जोखिममा परेको स्थानीयले बताए । डढेलो ठूलो क्षेत्रमा फैलिएकाले पनि थप समस्या भएको उनले बताए ।
समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।
