Fast Nepal News

खेल श्रमसंस्कृति र अर्थतन्त्रको आधारसमेत हो : प्रधानमन्त्री

banner single news

 

२३ फागुन, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताउनुभएको छ।

मंगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, “आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ।”

प्रधानमन्त्रीले “ खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएको” भन्दै खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेकोसमेत बताउनुभयो।

प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठ

एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित यस १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपले एसियन एथलेटिक्समा नेपालको पहिचानलाई थप फराकिलो बनाउने विश्वाससहित सर्वप्रथम प्रतियोगिताको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु।

Inside Article Ads

दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीनपटक स्वर्ण पदक जित्ने क्रममा धावक बैकुण्ठ मानन्धरले साढे तीन दशकभन्दा अगाडि २ घन्टा १५ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै म्याराथुनमा राखेको कीर्तिमान अहिलेसम्म कायमै छ। पछिल्लोपटक नेपालमा आयोजित १३ औं सागमा १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नुले एथलेटिक्समा नेपालले प्राप्त गरेको सफलता प्रमाणित गर्दछ। यी सफलताहरूले नेपाली खेलाडीहरूको दक्षता र खुबीमात्रै प्रदर्शन भएको छैन, सिंगो राष्ट्रकै गौरव र प्रतिष्ठासमेत उच्च भएको छ।
त्यसबीचमा अन्य खेलाडीले पनि एथलेटिक्स खेलमार्फत आ–आफ्नो ठाउँबाट विशिष्ट योगदान गर्दै आउनुभएको छ। विश्व खेलकुदको महाकुम्भको रूपमा रहेको ओलम्पिकमा नेपालबाट सबैभन्दा बढी एथलेटिक्स खेलाडीकै सहभागिता रहनु हाम्रा लागि गर्वको विषय हो।

खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्। खेल कुटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन्।

कुनै समय खेलकुदलाई शारीरिक र मानसिक स्फूर्तिको माध्यमका रूपमा मात्र लिइन्थ्यो। तर, अहिले समय फेरिएको छ। आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ।

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो। नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध छ। त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ। साथै एथलेटिक्सको विकासका निम्तिसमेत राज्यले उचित ध्यान दिनेछ।
दुई दशकभन्दा लामो समयपछि नेपाललाई एसियन क्रस कन्ट्री च्याम्पियनसिपको आयोजनाको अवसर दिने एसियन एथलेटिक्स एसोसिएसन परिवारलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै आगामी दिनमा समेत नेपाल यहाँहरूको उच्च प्राथमिकतामा पर्नेछ भन्ने मैले विश्वास लिएको छु।

अन्त्यमा, यस प्रतियोगितालाई शानदार रूपमा सफल पार्न भूमिका खेल्ने सरकारी र गैरसरकारी क्षेत्रका सबै संस्था र प्रतिनिधिज्यूहरूप्रति विशेष आभार प्रकट गर्दछु। च्याम्पियनसीपमा भाग लिने नेपालसहित ११ देशका खेलाडीहरूमा प्रतियोगितामा राम्रो प्रस्तुतिको अपेक्षासहित शुभकामना व्यक्त गर्दछु। यस प्रतियोगिताका आयोजक, व्यवस्थापक, सम्पूर्ण प्रयोजकहरू एवं सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगप्रति प्रतिवद्ध रहेको विश्वास दिलाउँदै विदा हुन्छु, धन्यवाद।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.