
७ फागुन,काठमाडौं राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुभएको छ।समारोहलाई सम्बोधन गर्नुहुदै आजभन्दा ७३ वर्ष अगाडि हाम्रा पुर्खाले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको संघर्षमार्फत जहानियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेको धारणा व्यक्त गर्नुभयो ।
‘निरंकुश जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको बलिदानीपूर्ण संघर्र्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र संघर्र्ष भएका छन् । ती सबै क्रान्ति, आन्दोलन र संघर्र्षले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेको प्रधानमन्त्रीको धारणा रहेको छ।
राष्ट्रिय प्रजातन्त्र दिवसको ऐतिहासिक अवसरमा ती सबै आन्दोलनप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादोन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण जनसमुदायमा अपिल गर्नुभयो । लोकतन्त्रका राजनीतिक, आर्थिक र सामाजिक आयामको उच्चतम तथा परिष्कृत अभ्यासबाट मात्र जनस्तरमा लोकतन्त्रप्रतिको गहिरो विश्वास, आत्मीयता एवं व्यवस्थाको रक्षा तथा निरन्तर विकासका निम्ति अपनत्वबोध पैदा हुने बताउनुभयो।
लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौँदेखिको नेपाल र नेपाली जनताको विकास तथा समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने धारणा व्यक्त गनुहुर्दै प्रधानमन्त्री प्रचण्डले उपेक्षित, उत्पीडित, सीमान्तकृत एवं विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको राज्यमा समानुपातिक प्रतिनिधित्व एवं आर्थिक जीवनमा गुणात्मक रूपान्तरणको माध्यमबाट मात्र सामाजिक न्यायको प्रत्याभूत गर्न, सुशासन र समृद्धिलाई गति दिन सकिने बताउनुभयो ।
देशको राजनीति र अर्थतन्त्रले सङ्कटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत् सुशासनको प्रत्याभूत गर्न अग्रसर रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दिगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयंगम गर्दै स्वतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ रहेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले ७३औँ प्रजातन्त्र दिवसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, लोकतन्त्र र संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयनसहित आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय प्रत्याभूत गर्न सफल रहोस् भन्ने कामनाका साथ शुभकामना व्यक्त गर्नुभएको छ ।
